काठमाडौँ, १ फागुन । नेपाली समाजले परापूर्वदेखि पितृसत्तात्मक चिन्तन बोक्दै आएको छ। एक्काइसौं शताब्दीमा पनि यसमा खासै परिवर्तन आएको देखिँदैन। अहिले पनि स्वयं महिलाहरू नै घरपरिवारमा छोरीभन्दा छोराकै पक्ष लिन्छन्। छोरी नै छोरी जन्मिँदा महिला दुःखी हुन्छन्। उनीहरूले आँसु झारेको देखिन्छ। महिलाहरू छोराको घरबार बलियो होस्, दुःख नपाऊन् भनी नखाइनखाइ सम्पत्ति जोहो गरिदिन्छन्। जबकि यिनै भेदभावका कारण महिला स्वयं समाजमा दुःख पाइरहेका छन्।
घरपरिवारमा छोरीको सुविधा र शिक्षाबारेमा कुराकानी गर्दा जहिले पनि अर्काका घरमा जाने जात भनेको सुनिन्छ। छोरीलाई सामान्य शिक्षा दिएर थोरै खर्चमा कलिलै उमेरमा बिहे गरी अर्काका घर पठाउन पाए आमाबाबु खुसी हुन्छन्। पुरुषबाहुल्य राज्यसत्ताले पनि महिलालाई भेदभाव गरेको छ। महिलाले नेतृत्वदायी भूमिका पाउन लागेका छन् भने पनि उनलाई पन्छाएर पुरुषलाई नियुक्त गर्ने हाम्रो प्रचलन छ। दिइहाले पनि लैंगिक समानताका नाममा संसारलाई देखाउन वा झारा टार्नसम्म एकाध पदमा राखिने गरिन्छ। हामीमा विद्यमान पुरातन सोचका कारण नै आज पनि महिलालाई भन्सा चलाउने र सन्तान पैदा गर्ने वस्तुका रूपमै परख गरिन्छ। यसरी आज पनि पुरुष समाजबाटै मुखियाको भूमिका निर्वाह हुँदै आएकाले महिलाले पनि काम गर्न सक्छन् भन्ने विश्वास पुरुषले गर्दैनन्। एसियाली मुलुकमा राजनीतिक क्षेत्रमा महिलाले प्रभावकारी राजनीतिज्ञ पिता, पति वा दाजुभाइ कोही भएको अवस्थामा नेतृत्व पंक्तिमा बसी काम गर्न पाएको देखिएको छ। परिवारवाद भएकै कारण भारतमा इन्दिरा गान्धी र सोनिया गान्धी, श्रीलंकामा बन्दरानायके, पाकिस्तानमा बेनजिर भुट्टो, बंगलादेशमा शेष हसिना र खालिदा जिया सत्ता राजनीतिमा आउन सफल भएका हुन्। अझ अल्पविकसित र अविकसित मुलुकहरूमा महिलालाई आफ्नो पहुँचमा सत्तामा पुग्न झन् कठिन र चुनौतीपूर्ण छ। हिजोआज युरोप र ल्याटिन अमेरिकी राष्ट्रहरूमा नेतृत्वपंक्तिमा महिलाहरू आफ्नै पहुँचमा आउन थालेका छन्।
राजनीतिक दलहरूमा महिलानेत्रीहरू बोल्न र कुनै कुराको दाबी गर्न धक मान्ने गरेको देखिन्छ। त्यसरी बोल्दा दलबाटै बाहिरिनुपर्ने हो कि भन्ने डर उनीहरुले पालेको देखिन्छ। डराउने र धक मान्ने हो भने महिला कहिल्यै माथि आउन सक्दैनन्। हालै पूर्वउपसमुख भइसकेकी जनजाति महिलाबाट शिवमाया तुम्बहाम्फे संसद्को सभामुख पदमा आफ्नै पहुँचमा पुग्ने बलियो सम्भावना देखिएको थियो। उनी धेरै पढेलेखेकी र अनुभवी पनि थिइन्। केही पुस्तक पनि लेखेकी छन्। कलेजमा अध्यापन गरेर प्राध्यापकको पृष्ठभूमि पनि बनाएकी थिइन्। तर पनि उनलाई पन्छाइयो र सभामुख पदमा एउटा पुरुषलाई स्थापित गरियो। नेपालमा महिलालाई नेतृत्व तहमा पुग्नबाट पन्छाउने कार्य धेरै ठाउँमा पटकपटक भएका छन्। यसै सन्दर्भमा एकजना समाजसेवी महिलाले संसद्मा सभामुख नियुक्तिको विषयलाई लिएर एउटा भेलामा चर्चा गर्दा भनेकी थिइन्— अब त शिवमायालाई सभामुखको उम्मेदवारीमा खडा गराउने सन्दर्भमा सम्बन्धित दलका महिला पनि मौन बसिदिए। विपक्षी दलकी नेत्रीले दबाब नदिनु त्यसलाई केही हदसम्म स्वाभाविक मानिएला। त्यसैकारण पुरुषहरू आरोप लगाउने गर्छन्( कुनै एउटी महिलाले कुनै क्षेत्रमा फट्को मारेको रहेछ भने अरू महिलाले त्यसलाई ईष्र्या भावले हेर्ने गर्छन्। यो प्रवृत्ति हाम्रो समाजमा मात्र होइन, धेरै अन्य समाजका महिलामा पनि पाइएको छ। यो पक्ष शतप्रतिशत महिला विकासको वाधक हो। जबसम्म महिलाले ती प्रवृत्तिबाट मुक्ति प्राप्त गर्ने प्रयास गर्दैनन् तबसम्म नेतृत्वदायी भूमिका प्राप्त गर्न कठिनाइ हुन्छ।
हाम्रो मुलुकमा कुनै पनि कार्यक्षेत्रमा नियुक्ति गर्दा महिला र पुरुषबीच जहिले पनि भेदभाव नै गरिन्छ। तर महिलाले यही असमान व्यवहारका कारण हीन भावना राख्नु हुन्न। यिनैकारण निराश भई काम गर्न छाड्नु पनि हुन्न। काम निरन्तर जारी गर्नाले अनुभव बढ्दै जान्छ र क्षमतामा वृद्धि हुन्छ। फेरि आफ्नो कामप्रति विश्वास पनि बढेर आउँछ। तसर्थ जस्तै अड्चन आए पनि कामलाई निरन्तरता दिनुपर्छ। यो लगनशीलताबाट प्राप्त अनुभवकै कारण काम गर्न सक्ने क्षमताको पछि मूल्यांकन पनि हुन्छ। कामकै सन्दर्भमा हुने छलफल वा सोही सिलसिलामा उठेका विवादमा आफ्ना भनाइ तथा समस्या राख्न कहिल्यै पनि पछि हट्नु हुन्न। यस्ता मौकामा आफ्नो क्षमता प्रदर्शन गर्नैपर्छ। छलफलमा मौन बस्ने होइन, हात उठाएर आफ्ना भनाइ राख्नुपर्छ। यसले गर्दा सबैका माझमा परिचित हुन सहज हुन्छ।
महिलाका मूल समस्या भनेको महिला–महिलाबीचमै मेलमिलाप नहुनु हो। केही अपवाद छाडेर अन्यमा सासू–बुहारी, नन्द–भाउजू कहाँसम्म भने कहीं–कहीं त आमा–छोरीको पनि मेल भएको पाइँदैन। भनाइ छ, चारजना महिला भेला भएपछि विवाद हुने गर्छ। विशेषतः महिला–महिलाबीच नै लाउनेखाने र आर्थिक स्तरका विषयमा छिमेकमा बोलचाल नहुने र रिसइबी हुने गरेको पाइन्छ। पुरुष र महिलाका बीचमा बरु त्यति विवाद हुँदैन तर महिला(महिलाबीचमा भने मिलेको देखिँदैन। यसको कारण मनोविज्ञान पनि हो भनिन्छ। (साभार : आजको अन्नपूर्ण पोष्ट् दैनिकमा सुशीला कार्कीले लेख्नु भएको आलेखको केही अंश ।)