Logo

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु



धादिङ, १ फागुन : धादिङको गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपलिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना२ख ५०५७ नंको बसले सात वर्षीय प्रज्वल गुरुङलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । बालकको शव परीक्षणका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ । ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार बस चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

यसैगरी गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नंको बस र विपरीत दिशातर्फ जाँदै गरेको बा९८प ७०५८ नंको स्कुटर एकापसमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा स्कुटरमा सवार चितवन जिल्ला भरतपुर महानगरपालिका–१३ गीतानगर निवासी २२ वर्षीया शर्मिला सिलवाल र २० वर्षीया महिमा सिलवाल रहेका छन् ।

दर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकामा घाइते महिमा सिलवालको उपचारको क्रममा मृत्यु भयो भने घाइते शर्मिला सिलवालको काठमाडौँस्थित ट्रमा सेन्टर उपचारका क्रममा मृत्यु भएको थियो । चितवन जिल्लामा बहिनीको ‘इन्गेजमेन्ट’मा जान लागेको बेला दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएकी महिमा कलाकार हुन् ।रासस



प्रतिक्रिया दिनुहोस्