काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरको ललिता निवासको जग्गा प्रकरणमा आफूलाई बिनाकारण आरोप लगाइएको भन्दै गुनासो पोखेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले ललिता निवासको जग्गामा अनियमितता भएको थाहा पाएपछि आफूले नै छानबिन समिति बनाएको तर आफूले नै जग्गा लिएजस्तो गरेर बद्नाम गर्न खोजिएको टिप्पणी गरे ।
उनले भने,‘ललिता निवास पनि बालुवाटारमै छ, मेरो निवास पनि त्यैँ छ, त्यसैले बालुवाटारको जग्गा भन्नेबित्तिकै मलाई नै सम्झने रहेछन्, मलाई आरोप लगाउने रहेछन् ।’ उनले ललिता निवास प्रकरणमा मुद्दा चलेकोमा रोइकराइ गर्नुपर्ने जरुरी नरहेको पनि बताए ।