Logo

शेर्पा समूदायलाई देउवाको ढाडस : काँग्रेसको सरकार बनेपछि ग्याल्बो ल्होसारमा बिदा पुनःस्थापना हुन्छ



काठमाडौं, ३ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सगरमाथा र शेर्पा जातिले नेपाललाई विश्वमा चिनाएको बताएका छन् । नेपाल लोकतान्त्रिक शेर्पा सङ्घले २१४७औँ ग्याल्बो ल्होसारका अवसरमा आज यहाँ आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले शेर्पा समुदायकै कारण नेपाल विश्वमा चिनिएकाले हीन भावना नराख्न शेर्पा समुदायलाई आह्वान गरे ।

“सगरमाथा र शेर्पा दुवै नेपालका गर्व हुन्, यसबाट नेपालको संस्कृति विश्वमा चिनिएको छ, शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्बो ल्होसारमा दिँदै आएको सार्वजनिक बिदा वर्तमान सरकारले कटाएको छ, काँग्रेस नेतृत्वमा सरकार बनेपछि बिदा पुनःस्थापना हुन्छ”, सभापति देउवाले भने । तेञ्जिङ नोर्गे शेर्पालाई पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेकै कारण विश्वमा धेरैले चिन्ने गरेकाले त्यसप्रति गर्व गर्न पनि उहाँले आह्वान गरे ।

सांसद जीपछिरिङ लामाले सरकारले आमसञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने कानूनी व्यवस्था गरिरहेको बताउँदै केही सञ्चारमाध्यम भने सरकारका गलत क्रियाकलापको पनि संरक्षण गरेर प्रमुख प्रतिपक्षीको समाचार सम्प्रेषण नगर्ने गरेको बताए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले समेत भूकम्पपछि भत्किएका गुम्बा पुनःनिर्माणमा भेदभाव गरेको आरोप सांसद लामाको थियो ।



प्रतिक्रिया दिनुहोस्