Logo

यस्तो रहेछ ओली सरकार ढाल्ने योजना



काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर सरकार ढाल्ने षड्यन्त्र भइरहेको खुलासा गरेका छन् । उनले आइतबार सरकार ढाल्ने खुलासा त्यतिबेला गरे जब सरकारले दुई वर्ष कार्यकाल पूरा गरेको एक दिनमात्र बितेको थियो ।

संविधान अनुसार अब सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनसक्छ । देशका राजनीतिक अस्थिरता बढेको भन्दै संविधानमै कुनैपनि सरकार दुई वर्ष पूरा नभई अविश्वासको प्रस्ताव दर्ता गर्न नमिल्ने प्रावधान राखिएको छ । ओली सरकार दुई वर्ष पूरा भएकाले अब अविश्वासको प्रस्ताव दर्ता हुनसक्छ ।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपनि ओली स्पष्ट बहुमतको अवस्थामा छन् । उनी अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी पूर्ण बहुमतमा छ । पार्टीभित्र संसदीय दलमा पनि ओली बहुमतमा छन् । तर, यति भन्दैमा अब ओली दुई वर्ष जसरी ढुक्क थिए अब ढुक्क हुने अवस्था छैन ।

ओलीलाई पाँच वर्ष पूरा कार्यकाल दिन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन् । तर, प्रचण्डकै भूमिकाले ओलीलाई बेला बेलामा झस्काउने गर्छ । प्रचण्ड आफैमा चतुर खेलाडी हुन् ।

ओली सरकारलाई अहिले कसैबाट खतरा छ भने प्रचण्डबाट मात्र छ । प्रचण्डले जबसम्म साथ दिन्छन् तबसम्म ओली सरकार आरामदायी बहुमतका साथ अगाडि बढ्छ । तर, प्रचण्डले कथंकदाचित् चलखेल गरेमा ओली सरकार ढल्ने अवस्था नबन्ला भन्न सकिदैन ।

नेकपाभित्र ओलीले पूर्व एमालेलाई एउटै ठाउँमा ल्याउन खोजिरहेका छन् । बासुँरी र सारङ्गी कुटनीतिको सन्देश यही हो । ओलीले झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमसँग एक्ला एक्लै छलफल गरिसकेका छन् । खनाल, नेपाल र गौतम ओलीसँग असन्तुष्ट रहँदै आएका छन् । पछिल्लो समय सम्बन्धमा केही सुधार भएको छ । गौतमलाई उपाध्यक्ष बनाएर ओलीले चुप लगाएका छन् । तर, राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने गरी संविधान संशोधन गर्नुपर्ने गौतमको चाहना ओलीले पूरा गरिदिएनन् । यसबाट उनी सन्तुष्ट छैनन् ।

गौतम नेकपाभित्र तेस्रो शक्तिशाली देखिदै गएका छन् । उनीसँग स्थायी समितिका अलावा संसदीय दलमा पनि ओली र प्रचण्ड पछि बलियो पकड छ । गौतमले प्रचण्डलाई साथ दिएमा ओली अप्ठ्यारोमा पर्न सक्छन् । त्यसमाथि माधवकुमार नेपाल टाढिएमा झन् समस्या पर्न सक्छ । यस्तो माहोल बन्न नदिन ओली चार्तुयतापूर्वक लागिपरेका छन् ।

अहिले नेकपाभित्र अमेरिकी विकाससम्बन्धि एमसीसीको विषय पेचिलो बनेको छ । नेकपाभित्र प्रभावशाली नेतामध्ये ओलीबाहेकका नेता यसको पक्षमा कित खुलेका छैनन् कि त विरोधमा छन् । यसले ओलीलाई असजिलो पार्नसक्छ । संसदबाट एमसीसी पारित नभए ओली सरकार नै धरापमा पर्न सक्छ । यसकारण पनि ओलीले एमसीसी असफल बनाएर सरकार ढाल्ने षड्यन्त्र भएको संकेत गरेका हुन् ।

ओलीलाई सत्ताबाट हटाउन शक्तिकेन्द्रहरु लागेको विषय पनि चर्चामा छ । स्वयं उनले शक्तिकेन्द्रहरु लागेको बताएका छन् । ती शक्तिकेन्द्र देशभित्रका हुन् या बाहिरका हुन् स्पष्ट छैन । तर, ओलीले आफू नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र भएको खुलाउनुले केही न केही पाकिरहेको संकेत गरेको छ । आउँदा दिनहरु ओली सरकारका लागि चुनौतीपूर्ण बनेकोछ । त्यो चुनौती कमजोर प्रतिपक्ष नेपाली काँग्रेसबाट नभएर ओलीका नेकपाभित्रका प्रतिष्पर्धीहरुबाट रहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्