Logo

योगदानमा आधारित सामाजिक सुरक्षा योजना , होटलका कर्मचारीलाई उपदान समस्या



काठमाडौँ, ९ फागुन । होटलमा काम गर्ने कर्मचारी तथा श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुन उत्साहित छैनन् । कोषमा आबद्ध हुँदा आफूहरूले पाउने उपदानको रकम नै गुम्ने डर उनीहरूमा छ । उपदान आउने निश्चित भएपछि मात्रै होटलमा काम गर्ने कर्मचारी तथा श्रमिक कोषमा सूचीकृत हुने बताउँदै आएका छन् ।

संयुक्त टे«ड युनियन समन्वय केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले धेरै होटलमा काम गर्ने कर्मचारी श्रमिक उपदान गुम्ने डरले सूचीकृत हुन नचाहेको जानकारी दिएका छन् । उनका अनुसार नयाँ होटलमा समस्या छैन तर पुराना होटलमा काम गर्ने कर्मचारी तथा श्रमिकको यस्तो समस्या छ । अध्यक्ष श्रेष्ठले उपदान दिने व्यवस्था भएका होटलका सञ्चालकले श्रमिकको जम्मा भएको उपदानबापतको रकम एकैपटक दिन नसके पनि एक/डेढ वर्षभित्र दिइसक्ने गरी किस्ताको व्यवस्था गर्न आग्रह गरेको तर उनीहरूबाट कुनै प्रक्रिया नआएको बताएका छन् । यता होटल सञ्चालक तथा व्यवस्थापकले भने कर्मचारी तथा श्रमिकले पुरानो व्यवस्थाअनुसार प्राप्त गर्ने उपदानबापतको रकम दिने व्यवस्था गरिने हुँदा श्रमिकलाई श्रम ऐनको नयाँ व्यवस्थाअनुसार योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन आह्वान गरेका छन् । होटल सङ्घ नेपाल (हान)ले एक साता पहिले सबै होटलका काम गर्ने कर्मचारी एवं श्रमिकलाई एक महिनाभित्र सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन परिपत्रसमेत गरिसकेको छ । हानका सदस्य होटलका आधिकारिक प्रतिनिधिहरूको गत आइतबारको बैठकले होटलमा कार्यरत सबै श्रमिक तथा कर्मचारीलाई ३० दिनभित्र योजनामा सूचीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको थियो र त्यही निर्णयअनुसार सबै होटललाई परिपत्र गरेको छ ।

हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले कर्मचारी तथा श्रमिकले पुरानो व्यवस्थाअनुसार प्राप्त गर्ने उपदानको रकम एकैपटक दिँदा होटल सञ्चालनलाई ठूलो आर्थिक भार पर्ने र त्यो थेग्न पनि नसक्ने हुँदा बिस्तारै दिने व्यवस्था गरिने बताएका छन् । सामाजिक सुरक्षा कोषका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अहिलेसम्म ३३५ वटा साना ठूला होटल कोषमा सूचीकृत भएका छन् । यस्तै ती होटलमा काम गर्ने योगदानकर्ता (कर्मचारी र श्रमिक) गरेर छ हजार ८७४ जना सूचीकृत भएका छन् । हानका वरिष्ठ उपाध्यक्ष शाहले सञ्चालनमा रहेका सबै सदस्य होटलमा कार्यरत श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा ल्याउन अनुरोध गरिएको बताएका छन् । । उनका अनुसार हान मातहत विभिन्न १५ च्याप्टरअन्तर्गतका दुई हजार होटलमा प्रत्यक्ष र अप्रत्यक्ष गरी लगभग १० लाख श्रमिक कर्मचारी छन् । देशभर रहेका अधिकांश होटल हानका सदस्य भएका कारण योगदानमा सूचीकरण हुने श्रमिक तथा कर्मचारी धेरै हुने उनको भनाइ छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्