काठमाडौँ, १२ फागुन । जनप्रतिनिधिले मानवीय सेवामा कसरी सहयोग गर्नुपर्छ’ भन्ने उदाहरण काभ्रेपलाञ्चोक जिल्ला, रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बनेकी छिन् । उनले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पु¥याएकी हुन ।
गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित गरि एम्बुलेन्स खरिद गरिएको जनाइएको छ । वडा नं ५ र ११ मा रहनेगरी दुवै वडास्थित एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षद्वयलाई आइतबार कार्यक्रममा संविधानसभा सदस्य तीर्थ लामाले हस्तान्तरण गरेका छन् । सरकारद्वारा कर छुटसहित रु २१ लाख ५२० मा दुई एम्बुलेन्स खरिद गरिएको हो । ती एम्बुलेन्सबाट रोशी गाउँपालिकाको ३५ हजार बासिन्दाका साथै नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका तथा छिमेकी जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने अनुमान गरिएको छ । उपाध्यक्ष बर्तौलाले आफ्नो सुविधाभन्दा पनि पालिकावासीको आवश्यकता मध्यनजर गरी एम्बुलेन्स खरिद गरिएको कार्यक्रममा बताएकी छिन् । गाउँपालिकाले उपाध्यक्षलाई गाडी खरिद गर्न गत आर्थिक वर्षमै रु २६ लाख रकम छुट्याएको थियो ।
गाउँपालिका अध्यक्ष दलबहादुर लामाले उपाध्यक्षले उदाहरणीय काम गरेकोमा खुशी व्यक्त गरेका छन् । बर्तौलाले गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएदेखिनै गाउँपालिकाको कुनै पनि सवारीसाधन प्रयोग गरेको छैन । “अध्यक्षको गाडी अहिलेसम्म दुईपटक मात्रै चढेको छु, मैले निर्वाचित भएदेखिनै घरबाट गाउँपालिका कार्यालय आउन जान सार्वजनिक यातायात प्रयोग गर्दै आएको छु”, उनले भनिन् । भौगोलिकताले विकट एवं पहाडी भूभाग भएकाले गाउँपालिकाका बासिन्दाले समयमै उपचार पाउन् भन्ने उद्देश्यले आफ्नो सवारी बजेटबाट एम्बुलेन्स खरिद गर्न लगाएको उनले बताएकी छिन् ।