Logo

वामदेवलाई शीतलनिवासको ‘सिग्नल’ !



काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान पुनः छलफल भएको छ तर गौतमले भने राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधनको सुनिश्चितता माग्न छाडेका छैनन् । केही साताअघि गौतम निवास भैंसेपाटीमा प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठले संविधान संशोधन गर्न सकिने वचन दिएको भन्दै उनले प्रधानमन्त्रीबाट पनि आश्वासन खोजेका हुन् । तर गौतमका लागि संविधान संशोधन गर्दा मधेसवादी दललगायत अन्यका एजेन्डा पनि खुल्ने र त्यसले भाँडभैलो हुने भएकाले अहिले संविधान संशोधनको कोर्षमा जान नसकिने नेकपा नेताहरूले बताएका छन् ।

गौतमलाई २०७६ माघ ९ गतेको राष्ट्रिय सभा निर्वाचनमै उम्मेदवार बन्न पार्टीले प्रस्ताव गर्दा उनले प्रधानमन्त्री नबन्ने गरी सांसद नहुने अडान राखेका थिए । यसबीचमा प्रधानमन्त्री ओलीलाई सचिवालयमा एक्ल्याउन गौतमका सबै सर्त मौखिक रूपमा मान्न अन्य नेता सहमत भए पनि प्रचण्डले सचिवालय बैठकमा भने संविधान संशोधनका पक्षमा नबोलेको भन्दै गौतमले प्रचण्डले धोखा दिएको बताएका थिए । नेकपा स्रोतका अनुसार वामदेव गौतम अहिले प्रचण्ड र ओली दुवैतिर आफ्नो निर्णायक भूमिका खोजिरहेका छन् । गौतम निकटस्थहरूले अस्थिर स्वभावका कारण विवादमा पर्ने गरेको भन्दै एउटै अडानमा रहन सुझावसमेत दिइरहेका छन् । निकटस्थहरूको सुझावपछि गौतमले प्रचण्ड, माधव नेपाललगायतका नेताहरूले चाहेर पनि ओलीले नचाहेसम्म कुनै निर्णय नहुने भएकाले ओलीको नजरमा अविश्वसनीय बन्नुभन्दा बरु ओलीलाई नै साथ दिने सोचसमेत सुनाउन भ्याइसकेका छन् । केही दिनअघि मात्र ओलीले गौतमलाई निवासमै बोलाएर लामो कुराकानी गरेका थिए । उनले गौतमलाई धैर्य गर्न भनेका छन् ।

उनलाई राष्ट्रपतिबाट मनोनीत हुने कोटामा राष्ट्रिय सभा सदस्यमा ल्याउने आश्वासन ओलीले नै दिएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल २०७६ फाल्गुन २० मा सकिंदैछ । खतिवडालाई अर्थमन्त्रीमा पुनः नदोहो¥याउने भएकाले उनको ठाउँमा गौतमलाई ल्याउन खोजिएको हो । यसअघि पनि ओली र वामदेवलाई मिलाउने भूमिका शीतलनिवासमै थियो । राष्ट्रपति स्वयंले पनि वामदेवलाई राष्ट्रिय सभामा आउन सुझाएको बताइन्छ ।

राष्ट्रपति भण्डारी अहिले पनि नेकपामा बलियो प्रभाव राख्छिन् । ओली गुटको व्यवस्थापनमा अहिले पनि शीतलनिवासको भूमिका रहने गरेको छ । यतिसम्मकि दुई अध्यक्षबीच सहमतिसमेत शीतलनिवासबाट गराइन्छ । शीतलनिवासबाट कुनै ‘सिग्नल’ पाएरै गौतम मनोनीत हुन तयार भएका हुन् । पार्टी उपाध्यक्ष बनाउने निर्णय पनि ओलीकै भएकाले ओलीलाई अहिले साथ दिएमा भोलि पार्टी अध्यक्ष वा प्रधानमन्त्री पनि ओली पक्षकै नेताका रूपमा बन्ने अवसर आउने आशा उनलाई छ ।

अस्थिर स्वभावकै कारण गौतमले आफ्ना धेरै प्रभावशाली नेता र सांसदहरूको साथ गुमाइसकेका छन् । सातौं महाधिवेशनमा ओलीलाई साथ दिएका गौतम आठौंमा झलनाथतिर पुग्दासम्म घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेताहरू पनि उनीसँग थिए । तर नवौं महाधिवेशनमा गौतम पुनः ओलीतिर लागेपछि योगेश, घनश्यामलगायतको समूह उनीसँगबाट छुट्यो ।

नवौं महाधिवेशनमा किरण गुरुङ, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, पद्मा अर्याल, गणेश ठगुन्ना, लालबहादुर थापालगायतका नेताहरू गौतमसँगै ओलीको प्यानलमा परेका थिए । तर पार्टी एकतापछि गौतम कहिले प्रचण्डतिर कहिले ओलीतिर लाग्न थालेपछि यी नेता ओली पक्षमा उभिए । अहिले गौतमसँग बलराम बास्कोटा, केशवलाल श्रेष्ठलगायतको सानो समूहमात्र छ । यद्यपि नेकपामा गौतमको प्रभाव भने बलियो छ । उनी ओलीतिर लागेको अवस्थामा ओली बलियो हुन्छन् । त्यसैले पनि केही नेताले ओली र गौतम मिलाउन निर्णायक भूमिका खेलिरहेका छन् ।

आगामी महाधिवेशनमा ओली अध्यक्षको दाबेदार नहुने बताइसकेका छन् । त्यो अवस्थामा ओली पक्षबाट अध्यक्षको बलियो दाबेदार देखिएका छैनन् । ईश्वर पोखरेलले अध्यक्ष बन्ने खालको भूमिका देखाउन नसकेको कारण वामदेव गौतम ओली पक्षमा दह्रिलोसँग उभिएको खण्डमा उनी अध्यक्षका दाबेदार हुनसक्ने नेताहरू बताउँछन् । हुन त कतिपय पूर्वएमाले नेताहरूले ओली र नेपालबीच सम्बन्ध सुधारको प्रयास पनि गरिरहेका छन् । तर अहिलेकै अवस्थामा ओली र नेपालबीच सम्बन्ध सुधार हुने देखिन्न । किनकि नेपाललाई प्रचण्डले आफ्नो पक्षमा पारेका छन् ।-साँघु साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्