Logo

ओली सत्ता धरापमा, नेकपाभित्र षड्यन्त्र पस्यो



काठमाडौं, १३ फागुन । नेपालको इतिहासमा लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारका प्रधानमन्त्री तीन वर्ष भन्दा लामो टिकेको इतिहास छैन । हालसम्म गिरिजाप्रसाद कोइरालाले तीन वर्ष प्रधानमन्त्री बनेर किर्तिमान कायम गरेका छन् । उनले २०४८ सालको चुनावपछि बनेको बहुमतको सरकार तीन वर्ष टिकाएपनि आफै मध्यावधि चुनाव घोषणा गरेर पद छाड्नुपर्यो ।
दुई तिहाईको सरकारको प्रधानमन्त्री बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष प्रधानमन्त्री बनेर कोइरालाको किर्तिमान तोड्ने दिशातर्फ आफूलाई बढाइरहेका छन् । तर, उनी दुई वर्ष प्रधानमन्त्री भएपनि सत्तामाथि अनेकन षड्यन्त्रको गन्ध देखिइसकेको छ ।

ओली स्वयंले सरकारमाथि षड्यन्त्र भएको बोले । गृहजिल्ला झापा पुगेर उनले त्यसो बोलिरहँदा देशभित्र विभिन्न काण्डहरु बाहिर आए । अहिले ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको प्रमाणसहित पर्दाफास भइरहेको छ । कमिशनकाण्डमा ओलीका विश्वासपात्र गोकुल बाँस्कोटा मन्त्रीबाट राजीनामा दिन वाध्य भए । त्यसपछि ओलीमाथि पनि शंकाको सुई घुमेको छ ।
ओलीमाथि एउटा व्यापारिक घरानासँग मिलेर कमिशनको चलखेल गरेको आरोप लागेको छ । जी टु जी सम्झौता देखि विभिन्न ठूला आयोजनामा अर्बौंको भ्रष्टाचार भएको प्रमाणहरु आउन थालेको छ । नेपाल टेलिकम देखि दुरसञ्चार प्राधिकरणसम्बन्धि खरिद र सम्झौतामा क्याबिनेटबाट निर्णय गराएर बढाइएका योजनाहरुमा कमिशनको विषय बाहिर आएको छ । सरकार जग्गा लिजमा दिंदा अनियमितता भएको घटना बाहिर आइरहेको छ ।

यी घटनाहरु बाहिर आइरहँदा ओलीको जन्मदिन विवादमा पर्यो । उनले काटेको केक देखि तामझाम सम्मका कारण उनकै पक्षधर विरोधमा उत्रिएका छन् । ओली लोकप्रीयबाट अलोकप्रीय प्रधानमन्त्री बनिरहेका छन् ।

अहिले ओलीलाई पार्टीभित्रबाट ठूलो षड्यन्त्र भइरहेको देखिन्छ । उनलाई प्रभावशाली नेताहरुले साथ दिन छाडेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीमाथि दबाब बढाइरहेका छन् । वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल ओलीको पक्षमा देखिदैनन् । खनाल एमसीसी पारित गर्न नहुने पक्षमा देखिएर ओलीलाई अप्ठ्यारो पारिरहेका छन् । अमेरिकी सहयोग सम्बन्धि एमसीसी संसदबाट पारित गर्न चुनौती दिइरहँदा ओलीमाथि नैतिक संकट बढिरहेको छ ।

माधवकुमार नेपालसँग ओलीको लामो कटुता बनिसकेको छ । ललिता निवास प्रकरणमा आफूलाई मुछेपनि नेपाल ओलीसँग रुष्ट छन् । प्रभावशाली नेताहरुलाई फकाउन ओलीले वन टु वन भेटहरु गरेपनि त्यसले सार्थकता पाउन सकेको देखिदैन ।

वामदेव गौतमलाई फकाउन ओलीले उपाध्यक्ष बनाउने सम्म गरे । तर, गौतम संविधान संशोधनको दबाब दिइरहेका छन् । उनी आफ्ना लागि प्रधानमन्त्रीको ढोका खोल्न चाहन्छन् । सबैको आफ्नो राजनीतिक स्वार्थका कारण ओली एक्लिदै गएका छन् । उनलाई प्रभावशाली नेताहरुले कुनैपनि बेला सत्ताबाट हटाउने दबाब दिन सक्छन् । यो वातावरण नेकपाभित्र तयार हुँदै गएको देखिन्छ । प्रचण्डले पाँच वर्ष ओलीलाई प्रधानमन्त्री बन्न सघाउने भनेपनि अबको यात्रा कठिन देखिन्छ । संविधान अनुसार ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सकिने अवस्था बनिसकेको छ । यसकारण पनि ओलीमाथि दबाब बढ्दै छ । अब उनका लागि सत्ता जोगाउन कठिन देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्