काठमाडौं, १५ फागुन । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने नेकपा सचिवालयको निर्णयसँगै पार्टीमा विवाद बढेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली यसमा असन्तुष्ट देखिएका छन् । संविधान संशोधनमार्फत मनोनीत कोटा थपेर वामदेव र अर्थमन्त्री युवराज खतिवडा दुवैलाई राष्ट्रियसभामा लैजाने उनको पहल बहुमतको घेराबन्दीमा परेको छ । प्रधानमन्त्री ओली २० गते खाली हुने खतिवडाको एउटा कोटामा भने जसरी पनि उनैलाई निरन्तरता दिने अडानमा छन् ।
सचिवालयको बुधबारको बैठकले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष गौतमलाई पठाउन सरकारलाई सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको नेताहरूले बताएका थिए । स्रोतका अनुसार यो निर्णय सचिवालयले गर्दा प्रधानमन्त्री ओली मौन थिए । बहुमत सचिवालय सदस्यले आफूलाई घेराबन्दीमा पार्न अन्यत्रै भेला÷बैठक बसेर निर्णय गरी ल्याउने र पार्टी बैठकमा सुनाएर निर्णय गराउन खोज्ने प्रवृत्ति देखिन थालेको भन्दै उनले असन्तुष्टि पनि पोखेका थिए । उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेर लैजान अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका थिए । ओलीले भनेका थिए, ‘म आज अलिकति बोल्छु । बोल्नैपर्ने पनि छ । तपाईंहरूले कहाँ के–के गरिरहनुभएको छ, मलाई सम्पूर्ण जानकारी छ । मेरा विरुद्धका गतिविधिबारे म जानकार छु । तर ती सबै प्रक्रिया सामना गरेर जान्छु । तपाईँरूले निर्णय गरेरै आउनुभएको होला । निर्णय सुनाउनुहोस् । त्यसै गरेर जाऔंला ।’ त्यसपछि बैठकले दुइटा निर्णय गर्यो। पहिलो– राष्ट्रियसभामा वामदेवलाई मनोनीत गर्न सिफारिस गर्ने । दोस्रो– शनिबार गौतमकै मागका आधारमा संविधान संशोधन गर्न गठित कार्यदल विघटन गर्ने । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले यसबारे जानकारी गराएका थिए ।
यो निर्णय भएको केही घण्टा नबित्दै प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारमा बोलाई आफूले गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय नमान्ने अवगत गराए । उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफू खतिवडालाई निरन्तरता दिने पक्षमा अडिग रहेको र त्यसमा सहमति जनाइदिन नेपालसँग आग्रह गरेका थिए । ‘पार्टीका नेताहरू नै अर्थमन्त्री खतिवडाविरुद्ध विभिन्न मान्छेसँग मिलेर लागेको सूचना मेरासामु आइपुगेका छन् । यो सरकारविरुद्धकै घेराबन्दी हो । खतिवडाजी सरकारका पिलर हुनुहुन्छ । उहाँलाई म दोहोर्याएर जान्छु,’ नेपालसँग प्रधानमन्त्रीले भनेका थिए । प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालको उठबस खतिवडालाई हटाउनुपर्छ भन्ने व्यापारीहरूसँग समेत रहेको सूचना आफूले पाएको भन्दै खतिवडाका पक्षमा उभिदिन नेपालसँग आग्रह गरेको स्रोतले बताएको छ । गौतमलाई राष्ट्रियसभामा लान चाहे पनि अहिलेको आवश्यकता खतिवडालाई नै लैजानुपर्ने रहेको प्रधानमन्त्रीले बताएका थिए ।
नेपालसँग ओलीले मंगलबार पनि दुई पटक छलफल गरेका थिए । त्यस क्रममा पनि खतिवडाका पक्षमा सघाउन आग्रह गरेका थिए । बुधबारको बैठकपछि बालुवाटारमा नेपालसँग छलफल गरिरहेका प्रधानमन्त्री ओलीले उक्त छलफलमा झन्डै डेढ घण्टा सचिवालयका अर्का सदस्य ईश्वर पोखरेललाई पनि सहभागी गराएका थिए । स्रोतका अनुसार नेपालले भने कुनै ठोस प्रतिक्रिया जनाएनन् । ‘प्रधानमन्त्रीले खतिवडाका पक्षमा उहाँ (नेपाल) लाई मनाउन अनेक प्रयास गर्नुभएको देखिन्छ । तर, उहाँले खास प्रतिक्रिया दिइसक्नुभएको छैन,’ नेपाल निकट एक नेताले भने । ओलीले गत पुस २३ गते वामदेव निवासमा बसेको पार्टी नेताहरूको गठबन्धन तोड्न चाहिरहेका छन् । (अन्नपूर्ण पोष्ट्बाट)