काठमाडौँ, १५ फागुन । कांग्रेसको गैरसंस्थापन पक्षमा सभापतिको प्रत्याशी को हुने भन्ने दौडधुप चलिरहेका बेला महामन्त्री शशांक कोइरालाले फागुन १ गते उत्तरप्रदेश, भारतका मुख्यमन्त्री योगी आदित्यनाथसँग गरेको भेटवार्ता अहिले चर्चामा छ । कोइरालाको उक्त भेटलाई पार्टीको आसन्न महाधिवेशन र ‘हिन्दु राज्य’ को मुद्दासँग जोडेर हेर्ने गरिएको छ ।
केही समयअघि स्वास्थ्य परीक्षण गर्न दिल्ली पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलको भारतीय जनता पार्टीका पूर्वअध्यक्ष एवं रक्षामन्त्री राजनाथ सिंहसँग भेटेका थिए । जसको चर्चा नसेलाउँदै कोइरालाले भारतीय प्रधानमन्त्री मन्त्री नरेन्द्र मोदीका विश्वासपात्र आदित्यनाथलाई भेटेका हुन् । कोइराला इन्डिया फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान र नेपाल–भारत च्याम्बर अफ कमर्स इन्डस्ट्रीले संयुक्त रूपमा माघ २९ देखि फागुन १ सम्म आयोजना गरेको कार्यक्रममा सहभागी हुन उत्तरप्रदेश पुगेका थिए । आयोजकले योगी सहभागी हुने कार्यक्रममा कांग्रेसबाट महामन्त्री कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई बोलाएका थिए । नेपाल र भारतबीचको बहुपक्षीय विषयमा भएको संवाद कार्यक्रममा अन्य राजनीतिक दलका नेतासमेत आमन्त्रित थिए ।
कांग्रेस नेता रिजालका अनुसार कोइराला र योगीसँगको भेटवार्ता छुट्टै भएको थियो । उनीहरूबीचको भेट औपचारिकतामा मात्रै सीमित थिएन । पार्टीको आसन्न महाधिवेशन र नेपालको पछिल्ला घटनाक्रममाथि खुलेरै कुराकानी भएको थियो । भारतसँग कोइरालाहरूको पुरानो सम्बन्ध र बीपीकै छोरा भएका कारण पनि योगीले कोइरालासँगको भेटलाई बढी महत्त्व दिएको रिजालको बुझाइ छ । नेपालमा हिन्दु राज्य स्थापना हुनुपर्छ भन्ने भनाइ बेलाबखत सार्वजनिक रूपमै प्रकट गर्दै आएका मुख्यमन्त्री योगी आदित्यनाथसँग कोइरालाको भेटलाई पार्टीकै कतिपय नेताहरूले महाधिवेशनभन्दा पनि धर्मसँग जोडेर हेर्ने गरेका छन् । कोइराला भने धर्मबारे कुराकानी नै नभएको दाबी गर्छन् । ‘पार्टीको महाधिवेशन र सरकारका विषयमा कुराकानी भयो । धर्मका बारेमा कुराकानी नै भएन,’ उनले कान्तिपुरसँग भने, ‘धेरैजसो त पार्टीको आसन्न महाधिवेशनकै बारेमा उनीहरूको पनि चासो देखियो । हाम्रो कुराकानी पनि त्यसैमा बढी केन्द्रित भयो ।’
धर्मबारे आफ्नो दृष्टिकोणमा कुनै हेरफेर नभएको भने उनले बताए । ‘धर्म निरपेक्षता हटाउनै पर्छ, अहिले पनि मेरो धारणा त्यही हो । तर दुई तिहाइको समर्थन अर्कोतिर छ । अहिल्यै हट्ने सम्भावना छैन,’ उनले भने, ‘धर्मसापेक्ष र निरपेक्ष दुवै हुनु हुन्न, स्वतन्त्र हुनुपर्छ भन्नेमा म स्पष्ट छु ।’ कोइराला कार्यकर्ताको कुरा सुन्छन्, प्रतिक्रिया दिनुपर्ने भए मात्रै एकरदुई वाक्य बोल्छन् । नत्र मुसुक्क हाँसेर टारिदिन्छन् । आफ्नै बारेमा जति कटु आलोचना गरे पनि त्यसको प्रतिक्रिया उनको हाँसो हुन्छ । कसैलाई बिझाउँदैनन् । संसद्मै कोइरालाले दुई वर्षमा दुई पटक मात्रै बोलेका छन्, एकपटक सभामुख निर्वाचित भएपछि कृष्णबहादुर महरालाई बधाई दिने क्रममा र अर्कोपटक सरकारको नीति तथा कार्यक्रममाथि । पार्टीको केन्द्रीय कार्यसमितिमै उनी हतपत बोल्दैनन् । उनको भूमिकासमेत अर्का महामन्त्री पूर्णबहादुर खड्काले निर्वाह गरिरहेका हुन्छन् । (कान्तिपुर दैनिकबाट)