Logo

हैसियत हेरी साधुलाई दक्षिणा



काठमाडौँ, १५ फागुन । शिवरात्रिका लागि भारतका विभिन्न अखडाबाट आउने साधुमध्ये उच्च श्रेणीका साधु कम आउने गरेको पाइएको छ । गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका अनुसार यस वर्ष तीन हजार ७२ साधु शिवरात्रिमा पशुपति आएका थिए । कार्यालयकी प्रमुख उमा आचार्यका अनुसार चार सय ३७ नागाबाबा आए । साधुमध्ये नागा साधुलाई उच्च मानिन्छ ।

नागा साधुलाई गुठी संस्थानले सबैभन्दा बढी दक्षिणा दिएर बिदाइ गर्ने गरेको छ । नागा साधु पनि विशिष्ट र साधारण श्रेणीका हुन्छन् । गुठीले विशिष्ट नागालाई ९ सय ५१ र साधारण नागालाई ७ सय ५१ रुपैयाँ दिएर बिदाइ गरेको छ । नागापछि विभिन्न अखडा र मठका पुजारी, महन्तलगायत पर्छन् । तिनलाई गुठीले ‘ग’ श्रेणीमा राखेर संस्थानले दक्षिणा दिँदै आएको छ । ‘ग’ श्रेणीमा पर्ने साधु यो वर्ष ७ सय ३२ जना आएका थिए । यी साधुलाई ५ सय ५१ रुपैयाँ दिएर बिदाइ गरिएको हो । यीबाहेक अन्य साधुलाई साधारण साधुको श्रेणीमा राखिएको छ । सबैभन्दा बढी साधारण साधु आउने गरेका छन् । संस्थानले साधारण साधुलाई पनि घ, ङ, च श्रेणीमा विभाजन गरेर दक्षिणा वितरण गर्ने गरेको छ । संस्थानले घ श्रेणीकालाई ३ सय ५१, ङ श्रेणीकालाई २ सय ५१ र च श्रेणीकालाई १ सय ५१ रुपैयाँ दक्षिणा दिएको छ ।

अघिल्ला वर्ष पनि नागा साधुको संख्या अन्यभन्दा कम थियो । २०७५ सालमा विशिष्ट र साधारण गरी ५ सय १ नागा साधु आएको संस्थानले जनाएको छ । त्यो वर्ष १२ हजार ७ सय ८१ साधु आएका थिए । २०७४ सालमा विशिष्ट नागा २८ र साधारण नागा १ सय १ गरी १ सय २९ जना मात्र उच्च स्तरका साधु आएका थिए । यस वर्ष पशुपति आउने साधुलाई कम्तीमा ३ सय ५१ देखि बढीमा १ हजार ७ सय ५१ रुपैयाँसम्म दिइएको थियो । यो वर्ष साधुका श्रेणी पनि ७ वटा तोकिएको थियो । विभिन्न अखडामा बसेका साधुका विभिन्न हैसियत हुन्छन् । कोही गुरु हुन्छन्, कोही चेला । अखडा, मठ, गुफा, पाटीपौवा, आश्रम लगायतमा कोही महन्तको, कोही पुजारीको हैसियतमा बसेका हुन्छन् । कोही मठको सफाइ गर्ने हैसियतमा हुन्छन् । कोही हेरचाह गर्ने त कोहीचाहिँ टहलुवा हुन्छन् । शिवरात्रिमा आउने साधुलाई पनि यस्तै हैसियतअनुसार दक्षिणा दिएर बिदाइ गर्ने चलन रहेको गुठी संस्थानका अध्यक्ष मीननारायण चौधरीले बताए । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्