Logo

संसद् छलेर इन्धनमा थप कर



काठमाडौँ, १६ फागुन । संसद्बाट अनुमोदन गराएर मात्रै कर लगाउनुपर्ने अभ्यासविपरीत सरकारले इन्धनमा पूर्वाधार विकास कर बढाएर उपभोक्तामाथि अतिरिक्त भार थोपरेको छ । बजारमा भइरहेको मूल्यवृद्धिलाई बढावा दिने गरी फागुन १२ को मन्त्रिपरिषद् बैठकले इन्धनबाट उठाउँदै आएको यस्तो कर दोब्बर पारेको हो ।

यसअघि पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर रहेकामा अब प्रतिलिटर १० रुपैयाँ भएको छ । मन्त्रिपरिषद् निर्णयलगत्तै भन्सार कार्यालयहरूले यो रकम उठाउन सुरु गरिसकेका छन् तर यसरी उठाइएको रकम कहाँ खर्च गर्ने भन्ने टुंगो लागेको छैन । २०७२ र ७३ बाट उठाउन थालिएको प्रतिलिटर ५ रुपैयाँ कर बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा लगाउने घोषणा गरिएको थियो । यो शीर्षकमा करिब ४१ अर्ब रुपैयाँ संकलन भइसकेको छ तर आयोजना निर्माणमा अन्योलका कारण सरकारले यो रकम उपयोग गर्न सकेको छैन । बूढीगण्डकीमा प्रारम्भिक अध्ययन सकेर मुआब्जा दिँदै सरकारले जग्गा लिइरहेको छ तर निर्माणको ‘मोडालिटी’ टुंगो लागेको छैन । बूढीगण्डकीमा प्रयोग हुने सम्भावना कम हुँदै गएपछि ०७४ र ७५ देखि सरकारले शीर्षक बदलेर ‘नेपालको पूर्वाधार विकास कर’ उठाउन थालेको हो ।

यही शीर्षकमा थप पाँच रुपैयाँ कर बढाउने निर्णयअनुसार बिहीबारदेखि भन्सारले प्रतिलिटर १० रुपैयाँका दरले रकम उठाउन थालेका छन् । यसअघि करिब एक अर्ब रुपैयाँ मासिक संकलन भइरहेको यो कर अब २ अर्ब संकलन हुनेछ । इन्धनबाट उठाइँदै आएको पूर्वाधार कर बढेपछि त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्नेछ । ‘इन्धनको कर बढाउनु भनेकै मूल्यवृद्धिमा सहयोग गर्नु हो,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘त्यसमाथि सरकारले संसद् छलेर संविधानविपरीत कर लगाई उपभोक्ता मार्ने काम गरेको छ ।’

कर परिमार्जन र कर वृद्धि आर्थिक बजेटबाट ल्याउनुपर्छ । यसरी संसद् छलेर मन्त्रिपरिषद्बाट निर्णय गरिनु नै गलत भएको कानुन व्यवसायीसमेत रहेका बानियाँको तर्क छ । ‘यो उपभोक्तामारा र गैरसंवैधानिक निर्णय तत्काल फिर्ता हुनुपर्छ,’ उनले भने । सरकारको यो निर्णयसँगै अब मासिक दुई अर्ब रुपैयाँ कर संकलन हुन्छ । मासिक औसतमा ५० हजार किलोलिटर पेट्रोल, १ लाख ४० हजार किलोलिटर डिजेल र करिब २० हजार किलोलिटर हवाई इन्धन आयात हुने गरेको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्