काठमाडौँ, १६ फागुन । पार्टीभित्रको आन्तरिक कलह उत्कर्षमा पुगिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेतासँग परामर्श गरेका छन् । ओलीले बिहीबार बिहान कांग्रेस नेता शेखर कोइरालासँग करिब डेढ घण्टा कुराकानी गरेका थिए ।
त्यसको दुई दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी भएको जानकारीसमेत उनले त्यस अवसरमा दिएका थिए । नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि देउवालाई भेटेका थिए, जसबाट ओली निकै सशंकित बन्न पुगेका थिए । कोइरालासँग ओलीले पार्टीभित्र कुनै भवितव्य परे या नयाँ राजनीतिक घटनाक्रम विकास भएमा कांग्रेसले सहयोग गरिदेओस् भन्ने संकेत गरेका थिए । ‘तपाईंले शेरबहादुरजीसँग भेटेर खुला भएर कुराकानी गर्नुहोस् भनेँ, दुई दिनअघि भेटेको भन्नुभयो । सँगै उता पनि (दाहाल–देउवा) भेटेका छन् भन्नुभयो,’ कोइरालाले भने, ‘पार्टीभित्र अप्ठ्यारामा परिरहेका बेला दाहाल र देउवाबीचको भेटप्रति अलि संशकित भएको मैले पाएँ ।’ राष्ट्रिय सभामा कसलाई लैजाने भन्ने विषयलाई लिएर ओली धेरै चिन्तित भएको उनले बताए । ‘तपाईंले कसलाई बनाउँदै हुनुहुन्छ भन्दा उहाँले तपाईंलाई के लाग्छ भन्नुभयो,’ कोइरालाले कान्तिपुरसँग भने, ‘बनाउने मन्त्रिपरिषद्ले हो, तपाईं जसलाई बनाउन चाहनुहुन्छ, उही हुन्छ तर एउटा व्यक्तिका लागि संविधान संशोधनको मुद्दा ल्याउन हुन्न । भयो भने दुर्भाग्य हुन्छ । त्यसको विरोध तपाईंले पनि थाम्न सक्नुहुन्न भन्दा उहाँले ठिकै हो भन्नुभयो ।’
कोइरालाका अनुसार पार्टीभित्र आफूमाथि भइरहेको घेराबन्दीबाट ओली निकै तनावमा देखिन्थे । उनले नाम नलिई ४र५ व्यापारीतर्फ लक्षित गर्दै अर्थमन्त्री खतिवडालाई उनीहरूकै योजनामा हटाउने खेल भइरहेको बताएका थिए । ‘प्रधानमन्त्रीले तीन चारजना बिजनेसम्यान छाडा भएका छन् भनेर भन्नुभयो,’ कोइरालाले भने, ‘त्यस्ता बिजनेसम्यानका घरमै बसेर पार्टीकै नेताहरूले छलफल गरेको प्रति उहाँ असन्तुष्ट हुनुहुन्थ्यो ।’ राष्ट्रपतिबाट मनोनीतमध्येको रिक्त पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई ल्याउने कि अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने भन्ने विषयले नेकपाभित्र विवाद चुलिएको छ । ओली खतिवडाका पक्षमा छन् भने पार्टीका अन्य नेता गौतमका पक्षमा । कोइरालासँगको भेटमा पनि ओलीले खतिवडालाई निरन्तरता दिने संकेत गरेका थिए । (कान्तिपुर दैनिकबाट)