काठमाडौँ, १६ फागुन । डाक्टरकै सल्लाहअनुसार नर्मल डेलिभरी गराउने क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरी–४ मा गर्भवती लक्ष्मी बुढाथोकी र उनको पेटभित्रको शिशुको मृत्यु भएको छ। सुरुमा बुधबार राति करिब आठ बजेतिर बच्चाको मृत्यु भएको थियो भने पाँच घण्टापछि आमाको पनि मृत्यु भएको पीडित परिवारजनको भनाइ छ।
प्रसूति गराउने क्रममा चिकित्सकले लापरबाही गरेको भन्दै मृतकका परिवारजनले घटनामा संलग्न डाक्टरहरूलाई कारबाही गर्न माग गरेका छन्। मृतकका ससुरा कृष्णबहादुर बुढाथोकीले आमा र बच्चा दुवैको अवस्था सामान्य छ भनेर बिपीका डाक्टरहरूले बोलाएकै समयमा अस्पताल आएको तर उपचारमा लापरबाही भएकाले आमा र बच्चा दुवैको मृत्यु भएको बताए। बुधबार दिउँसो व्यथाले असाध्यै च्यापेपछि अप्रेसन गरिदिन आग्रह गर्दा डाक्टरहरूले नमानेका कारण आमा र बच्चाले ज्यान गुमाउनुपरेको उनको दाबी छ। ‘बुहारीलाई बुधबार दिनभरि व्यथाले च्याप्यो, हामीले अप्रेसन गरिदिन भन्दा मानेनन्। दिउँसो तीन बजेतिर लेबर रुममा लगे,’ उनले भने, ‘राति आठ बजेतिर एक्कासी बच्चाले दिसा खाइसक्यो, बच्चाको मृत्यु भयो भने। हामीले आमालाई त बचाइदिनुस् भन्दा आमा त बाचिहाल्छिन् भन्थे। तर बिहान दुई बजेतिरै आमाको पनि मृत्यु भयो।’ उनले कुनै समस्या नदेखिएका आमा र बच्चाको लापरबाहीकै कारण मृत्यु भएकाले डाक्टरहरूलाई कारबाही गर्नुपर्ने उनको माग छ।
गत जेठ ६ गते सिरहा गोलबजारकी लक्ष्मीको इटहरी–४ का विनोद बुढाथोकीसँग विवाह भएको थियो। लक्ष्मीले पहिलो सन्तान जन्माउन थालेकी थिइन्। त्यसैले पनि बुढाथोकी परिवारमा खुसी छाएको थियो। तर अहिले बुढाथोकी परिवारका सदस्यहरू अकल्पनीय पीडामा छन् भने लक्ष्मीको माइतीमा पनि बज्रपात भएको छ। छोरी गुमाएको पीडामा लक्ष्मीकी आमाको आँसु थामिएको छैन। (नागरिक दैनिकबाट)