काठमाडौं, १६ फागुन । नारायण ढकाल नेपाली साहित्य तथा पत्रकारितामा स्थापित नाम हो । साढे चार दशकदेखि लेखन क्षेत्रमा सक्रिय छन् । प्रेतकल्प, वृषभवध, दुर्भिक्ष र पीतसंवाद उनका चर्चित उपन्यास हुन् । उनका चार कथासङ्ग्रह, दुई निबन्धसङ्ग्रह र दुई अनुवादका पुस्तक प्रकाशित छन् । यी कृतिको अतिरिक्त उनका बालकथाका दुई कृति पनि प्रकाशित छन् । उनीसँग जयराम सापकोटाले ढकालसँग गर्नुभएको कुराकानीको सारसंक्षेप
कसरी बढिरहेको छ त लेखन गतिविधि ?
—यसै वर्षको अन्त्यसम्म मेरो नयाँ उपन्यास प्रकाशन हुँदैछ । यस कृतिको छपाइमा प्रकाशक फिनिक्स बुक्सले काम गरिरहेको छ । यो मेरो पाँचौँ उपन्यास हो । परिवेश र लेखनधर्मको दृष्टिमा यो प्रेतकल्प र वृषभवधपछिको अर्को कडी हो ।
वर्तमानको साहित्यलेखनप्रति सन्तुष्ट हुनुहुन्छ त ?
—सन्तुष्ट छैन । आफैंसित पनि सन्तुष्ट छैन र अरु नेपाली लेखकको रचनाले पनि सन्तुष्टि दिएको छैन । विश्वको मानचित्रमा नेपाली साहित्य धेरै कमजोर छ ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ ?
—राष्ट्रको महत्वपूर्ण जिम्मेवारी हुनुपर्छ । तर हामीकहाँ यस्तो जिम्मेवारीबोध अपर्याप्त देखिन्छ । साहित्य र कलाको निम्ति बनेका संस्थाको गठनको तरिका गलत भएर यस्तो भएको हो । प्रज्ञा र सांस्कृतिक संस्थानजस्ता संस्थामा योग्यता पुगेका व्यक्तिलाई भन्दा राजनीतिक दलका चम्चालाई लैजाने परिपाटी बसेको छ ।
तपाईंंको साहित्यिक आदर्श के हो ?
—मेहनत, लगन र निष्ठा । अरु त के भन्नु र ?
वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
—थोरैले मात्र गरेका छन् ।
तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
—छैन । म पलपल आफैंँप्रति निर्मम भएर लडिरहेको छु । हरेक नयाँ कृतिको सृजनापछि फेरि असन्तुष्टिले लखेट्न थाल्छ । शायद यस्तो अरुलाई पनि हुँदो हो !
हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
—समय गतिशील हुन्छ । समयसँगै मूल्य र मान्यताहरु बदलिइरहन्छन् । हरेक स्रष्टा यसमा चनाखो रहनुपर्छ । यसले स्रष्टालाई तुलना गर्ने आधार र मानक प्रदान गर्छ ।
तपाईंंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
—सामाजिक परिवर्तनका लागि दायित्वबोध भएको । यो मेरो मान्यता हो, अरुका निम्ति उपदेश होइन ।
लेखकीय जीवनबाट कहिलेकाँही निराश हुनुभएको त छैन ?
—आशा र निराशा हरेक मानिसका लागि सदाबहार तत्व हुन् । निराशाले नै आशावाद बलियो हुन्छ ।
लेखनप्रति केले प्रेरणा दिइरहेको छ त ?
—आफ्नै समाज र प्रकृतिले ।
लेख्ने निश्चित समय छ कि ?
—फुर्सदको समय । बिहान, दिउसो र बेलुका । मध्यराति उठेर कहिल्यै लेखेको छैन मैले ।
लामो समय लेखनमा बिताउँदा कस्तो महशुस गर्नुहुन्छ ?
—यसैमा सर्वोच्च आनन्द छ ।
लेख्न कस्तो वातावरण चाहिन्छ ?
—शान्त वातावरण र तनावहीन मस्तिस्क ।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
—समाज र मानिससितको संवादबाट । विम्बहरु त्यहीँ पाउँछु ।
सफल स्रष्टाका आवश्यक गुण के÷के हुन् ?
—योचाहिँ थाहा भएन । थाहा भएको भए असफलताको प्रेतले लखेट्ने थिएन ।
तपाईंका साहित्यिक यात्राका सम्झनै पर्ने रोचक घटना, प्रसङ्ग र सन्दर्भ कत्तिका छन् ?
—धेरै छन् । पत्रिकाको यो सानो ‘स्पेस’मा वर्णन गर्न अपर्याप्त हुन्छ । यो विषयमा मैले मेरो निबन्ध कृति शोकमग्न यात्रीमा लेखिसकेको छु ।
साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
—उपन्यास ।
सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
—दुवैको सन्तुलन चाहिन्छ । तर यतिले मात्र पुग्दैन ।
लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
—आत्मप्रकाशन र सामाजिक दायित्वले बढी लखेटेको बेला । यस्तो समयमा रचनात्मक आवेग बढी रहन्छ ।
तपाईं साहित्यकार नहुनुभएको भए के हुने सम्भावना थियो ?
—साहित्यकार बन्नुबाहेक अर्को सम्भावना थिएन ।
नयाँ लेखकलाई केही सुझाउ दिनुहुन्छ कि ?
—त्यस्तो खास केही छैन । सबैले आफ्नो जीवनयात्राको पथ आफैंले खन्नुपर्छ । अरुले भनेर के हुन्छ र ?