Logo

को को छन् गभर्नरको दौडमा



काठमाडौं, १६ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालको पदावधि आगामी चैत ६ गतेबाट सकिँदैछ । पदावधि सकिएर उहाँ घर बिदामा जाने तयारी भइरहँदा भावी गभर्नरका लागि शक्तिकेन्द्र धाउनेको ठूलै जमात तयार भएको छ यतिखेर । गभर्नरको कुर्सीमा बस्नकै लागि राष्ट्र बैंकका बहालवाला अधिकारी, सञ्चालकदेखि नेपाल सरकारकै पूर्व प्रशासकसमेत दौडधुपमा सक्रिय भएर लागेका छन् ।

राष्ट्र बैंकभित्रै भावी गभर्नरका रूपमा लिइने गरेका वर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी यतिबेला प्रधानमन्त्री केपी ओलीलाई रिझाउन हरसम्भव प्रयासमा छन् । ओलीकै गृहजिल्ला झापाका सिवाकोटीले आफू प्रमनिकट रहेको देखाउनकै लागि केही दिनअघि आफैंले लेखेको एउटा पुस्तकको विमोचन ओलीबाट प्रमनिवासमै सम्पन्न गराए । सिवाकोटी गत आइतबार प्रमलाई पच्छ्याउँदै तेह्रथुमको आठराई नै पुगे । ओली आफ्नो ६९औं जन्मोत्सव मनाउन गत आइतवार तेह्रथुम गएका थिए । यतिमात्रै हैन– आफूलाई गभर्नर बनाउनकै लागि अर्थमन्त्री युवराज खतिवडाको समेत प्रियपात्र देखाउन उनले आफू खतिवडाकै चेलो भएको र राष्ट्र बैंकको जागिरे जीवनमा तत्कालीन गभर्नर खतिवडाकै निर्देशन र सल्लाहमा काम गरेकै कारण सफलता पाएको समेत बताउँदै आए ।

 

गभर्नरकै दौडमा यतिबेला राष्ट्र बैंकका सञ्चालक चार्टर्ड एकाउण्टेण्ट सुबोध कर्ण पनि हुनुहुन्छ । कर्णलाई नेकपा नेताहरुले महालेखा परीक्षकमा नियुक्त गर्ने आश्वासन विगतमा दिएका थिए । महालेखामा कर्णलाई लान सक्ने परिस्थिति बनेकाले तत्काललाई राष्ट्र बैंकको सञ्चालक बनाएर राखिएका कर्ण पनि यतिबेला गभर्नर दावी गर्दै शक्तिकेन्द्र धाइरहेका छन् ।

नेकपामा खासगरी ओली र उपप्रम ईश्वर पोखरेलसँग राम्रो सम्बन्ध बनाउनुभएका कर्ण प्रमनिवास बालुवाटारमा आयोजित सिवाकोटीलिखित पुस्तकको विमोचन कार्यक्रममा ओलीकै इशारामा आमन्त्रण भएबाट पनि गभर्नरका लागि यी दुईमै उच्च प्रतिस्पर्धा रहेको स्रोतहरुले बताएका छन् । यद्यपि यो दौडमा भर्खरैमात्र अनियमितताको आरोपबाट मुक्त भएका राष्ट्र बैंककै अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि छन् । श्रेष्ठ डार्क हर्सका रुपमा परिचित छन् । उनले अपत्यारिलो पाराले डेपुटी गभर्नर हात पारेका थिए त्यो पनि ओली पहिलोपटक गभर्नर हुँदा ।

गभर्नरकै ‘रेस’मा गत माघबाट अर्थसचिवबाट अवकाश पाएका डा. राजन खनाललाई पनि बलिया दावेदारका रूपमा हेरिएको छ । अर्थ मन्त्रालयमा रहँदा मन्त्रीसँगको सान्निध्यले खनाल र खतिवडा दुवैले एक अर्कालाई राम्ररी बुझेको र मन्त्री खनालको क्षमताबाट प्रभावित रहेकै कारण पनि खतिवडाले गर्ने गभर्नरको शिफारिसमा खनालको नाम समेटिनेमा अर्थ मन्त्रालयकै कतिपय उच्च अधिकारी विश्वस्त रहेको बताइन्छ । यसै गरी राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकाश पाएर हाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, पूर्व राजस्व सचिव लालशंकर घिमिरेलगायतलाई गभर्नरका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । राष्ट्रिय योजना आयोगका पुर्व अपाध्यक्ष श्रेष्ठ नेकपाकै कार्यकारी अध्यक्ष प्रचण्डसँगको घनिष्टताले पनि उक्त पदका लागि सबैभन्दा दह्रो उम्मेदवार रहेको आफूनिकटलाई बताउन थाल्नुभएको छ । यसै बीच खुमलटारतिर उहाँको बाक्लै आउजाउ बढेको नेकपाकै कार्यकर्ताहरु बताउँछन् ।

उपर्युक्त पात्रमध्ये पनि सर्वशक्तिशाली रूपमा यतिबेला सिवाकोटी र कर्णलाई नै लिइएको छ । नेकपा भित्र ओली र मन्त्री खतिवडासम्मको पहुँच सिवाकोटीको रहे पनि उहाँकै प्रतिस्पर्धी कर्णले पछिल्लो समय आफ्नो सम्पर्कको दायरा भने फराकिलो बनाएको बताइन्छ । प्रम र उपप्रमसम्म सम्बन्ध राखेका कर्णले पछिल्लो समय राष्ट्रपति विद्या भण्डारी र नेकपाकै अर्का प्रभावशाली नेता वामदेव गौतमसम्मलाई भेटेर आफ्नो आकांक्षा सुनाएको स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार, कर्णले पछिल्लो एक महिनामा तीनपटक राष्ट्रपतिलाई भेटेका छन् ।

राष्ट्र बैंक ऐनले गभर्नर पदका लागि अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय शिफारिस समितिको व्यवस्था गरेको छ । सँगै यस्तो समितिले गभर्नरको नाम शिफारिस गर्दा एकजना बहालवाला डेपुटी गभर्नरको शिफारिस हुनै पर्ने अनिवार्य व्यवस्था गरेकैले पनि अर्थमन्त्रीको समितिले गर्ने शिफारिसमा पर्नेमा कर्ण, सिवाकोटी र खनालको नाम समावेश हुने निश्चित नै रहेको स्रोतले बताएको छ । शिफारिससँगै सरकारले गभर्नर चयनमा अर्थमन्त्रीको व्यक्तिगत राय पनि लिने पुरानो परम्परा रहेकाले अन्तिममा मन्त्री खतिवडाले जसबारे राय दिन्छन्– उसले गभर्नर बन्ने सम्भावना बलियो छ ।



प्रतिक्रिया दिनुहोस्