Logo

बन्दीपुरमा पौने नौ लाखको पुल नबन्दै बबन्डर



तनहुँ, १६ फागुन । नाम पुल काम कुलो । यो देशकै सुन्दर ठाउँ बन्दिपुर क्षेत्रको हो । बन्दीपुर गाउँपालिकाको फुदी खोलामा बनिरहेको पुलमा पौने नौ लाख विनियोजन गरेर काम भइरहेको छ । तर, निर्माणको शुरुमै व्यापक अनियमितता भएको स्पष्ट देखिन्छ । पुलले न त वर्षे भेल थेग्न सक्छ न त ठूला गाडीको भार थेग्न सक्छ ।

खोलाकै ढुंगा प्रयोग गरी बनाइएको पुलमा सिमेन्ट, बालुवा, हिमपाइप र ज्यालामात्र खर्च भएको छ । पुल निर्माण भइरहँदाको अवस्था देखेपछि स्थानीयले विरोध गरेका छन् । यसक्रममा झडप समेत भएको छ ।

उपभोक्ता समिति बनाएर पुल निर्माण भइरहेको छ । यस क्रममा अनियमितता देखेपछि विरोध भएको बुझिएको छ । यसबारे बन्दीपुर गाउँपालिकाका प्रमुख पूर्ण सिंहले अनुगमन हुने बताए । उपभोक्ता समिति, वडा र गाउँपालिकाले त्यसबारे अनुगमन गर्ने उनको भनाई छ । उनले भने, ‘यो पुल होइन कज वे हो । कज वेसहित बाटोका लागि २५ लाख छुट्याइएको छ ।’ आइतबार प्राविधिकहरु पुगेर पुलको अनुगमन गर्ने बताए ।

निर्माणाधीन फुदी खोलाको पुलले तनहुँको सिमल्टारबाट बन्दिपुर–धारापानी–सिमल्टार–कुवादी –कुकुर्दी लाई जोड्नेछ । पुलको निर्माण सिमल्टार बाट बन्दिपुर–धारापानी–सिमल्टार–कुवादी –कुकुर्दी मोटरबाटो उपभोक्ता समितिले गरिरहेको छ । बन्दीपुर गाउँपालिकाका नेकपाका स्थानीय कार्यकर्तालाई उपभोक्ता समितिमा राखेर निर्माण भइरहेको बुझिएको छ ।-तस्विरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्