काठमाडौं, १७ फागुन । विश्वका ६० देशमा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । दैनिक नयाँ देश र स्थानमा संक्रमण देखिइरहेको छ ।
अन्र्टाटिकाबाहेक सबै महादेशमा संक्रमित भेटिएका हुन् । अफ्रिकी मुलुक नाइजेरिया र अल्जेरियामा पनि संक्रमित भेटिएका छन् ।
सबैभन्दा बढी चीनमा झण्डै ८० हजार संक्रमित भएको तथ्यांक छ । जसमध्य दुई हजार आठ सय ३५ को मृत्यु भएको छ । चीनपछि दक्षिण कोरियामा संक्रमितको संख्या बढी छ । त्यहाँ दुई हजार नौ सय ३१ संक्रमित भेटिएकोमा १७ जनाको ज्यान गइसकेको छ । कोरियामा अहिले चीनमा भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।
इरानमा ३८८ संक्रमित भेटिएकोमा ३४ जनाको ज्यान गएको छ । चीनपछि कोरोना भाइरसबाट मर्ने बढी संख्या इरानको हो । इटालीमा कोरोना भाइरसबाट २१ जनाको मृत्यु भइसकेको छ ।
जापानमा पाँच जना, हङकङमा दुई, फ्रान्समा दुई, ताइवान र फिलिपिन्समा एक एक जनाको ज्यान गएको छ । सँसारभर कुल ८५ हजार दुई सय १० संक्रमित भेटिएकोमा एक हजार नयाँ संक्रमित भेटिएका छन् । मर्नेको संख्या तीन हजारको पुग्दैछ ।