Logo

कोरोनाका कारण काठमाण्डौमा माक्स अभाव, कालोबजारीको आशंका



फागुन १७, काठमाण्डौ । चीनलगायत ५० देशमा फैलिएको कोरोना भाइरसको जोखिमले नेपालमा मास्कको अभाव भएको छ । समान्यतया अधिकांश भाइरसको संक्रमणबाट बच्न माक्सको प्रयोग गरिन्छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण हुने डरले माक्स लगाउनेहरुको संख्या ह्वात्तै बढेको छ । जसले गर्दा अरुबेला कहिल्यै अभाव नभएको माक्स यतिबेला पाउनै मुस्किल छ ।

कोरोना भाइरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने एन नाइन फाइभ नामक मास्कमात्रै नभएर साधारण पेपर मास्कको समेत बजारमा अभाव देखिएको छ । कोरोना भाइरस चीन लगायत विभिन्न ५० मुलुकमा फैलिएपनि अहिले जताततै त्रास उत्पन्न सिर्जना भएको छ । विश्व स्वास्थ्य संगठनले पनि सर्तकता अपनाउन आग्रह गरिराखेको छ ।

सतर्कता अपनाउने सबैभन्दा सजिलो उपाय माक्सको प्रयोग नै हो । कोरोना संक्रमणको डरले माक्स लगाउनेहरुको संख्या बढेसँगै बजारमा अभाव सृजना भएको हो । मास्क अभाव हुने भएपछि बजारमा केहि व्यापारीहरुले भने कालो बजारीको फाइदा उठाउदै दोब्बर महँगो मूल्यमा मास्क बेच्न थालेका छन् । कम्पनीबाट मास्क आउनै छाड्यो भन्दै दोब्बर मूल्यमा बेच्न थालेका हुन् । बजारमा पाइने निलो र सेतो हरियो रंगका मास्क अभाव नै भइसकेको छ ।

नेपालमा मास्क उत्पादन गर्ने तीन वटा मात्रै कम्पनी छन् । यी सबै कम्पनीले साधारण पेपर मास्क मात्र उत्पादन गर्छन्। कोरोना भाइरसबाट जोगिन उपयुक्त मानिने एन ९५ मास्कको उत्पादन चीनमा हुन्छ । चीनबाटै नेपाल आयात गरिँदै आएको एन ९५ मास्क पछिल्ला दिनमा नेपाल भित्रिएको छैन ।

व्यापारीहरु पनि ४ सयको हाराहारीमा पर्ने माक्स अहिले १५ सयभन्दा बढी भन्ने गरेकाले पसलमा नल्याएको बताउँछन । उनीहरु दिनमा १०० देखि २०० को हाराहारीमा ग्राहक आउने तर फर्केर जाने गरेको बताउँछन् । माक्स अभाव हुनुमा कालोबजारी भएको हो कि भन्ने आशंका पनि उब्जिएको छ ।

पछिल्लो कोरोना भाइरस संक्रमण भएका देशमा माक्सको प्रयोग अनिवार्य गरिएको छ । त्यसो त काठमाडौ उपत्यका लगायत देशका प्रमुख शहरका नागरिकलाई माक्स अपरिहार्य बनेको छ । कोरोना संक्रमण नभए पनि धुलो धुवाँका कारण माक्स लगाउनुपर्ने बाध्यता छ । सानो सानो धुलोको कणहरुलाई शरिर भित्र नजाओस भनेर रोक्न मास्क प्रयोग गर्नु पर्दछ ।।



प्रतिक्रिया दिनुहोस्