एजेन्सी, १९ फागुन । आठ वर्ष अघि दिल्लीमा निर्भयामाथि बलात्कार गर्ने चारजनालाई मंगलबार पनि फाँसी नदिइने भएको छ । भारतको अदालतले दोषीमध्येका एकले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष क्षमा याचना गरेको र त्यसको निर्णय नआएकाले भारतको अदालतले फाँसी स्थगित गर्न लगाएको हो ।
दोषीमध्येका पवन गुप्ताले राष्ट्रपतिसमक्ष माफीको याचना गरेका छन् । गुप्ता चारमध्ये याचना गर्ने अन्तिम दोषी हुन् । २५ वर्षीय गुप्ता घटनाको समयमा १७ वर्षका थिए । बालिग नभइसकेकाले फाँसी हुन नहुने उनको जिकिर रहँदै आएको छ ।
अदालतले याचनाबारे टुंगो नलागेकाले फाँसी दिइहाल्न नमिल्ने फैसला गरेको छ । यसको टुंगो लागेको भए ६ बजे विहान, ३ मार्चमा दिल्लीस्थित तिहार जेलमा चार जनालाई फाँसीको सजाय दिइनेथियो।
चारजना निर्भया बलात्कार र हत्यामा दोषी ठहरिएपछि फाँसीको सजाय सुनाइएका हुन् । दिल्ली अदालतले उनीहरुको फाँसीको मिति तोकेको थियो । यसअघि तीनपटक तोकिएको मिति स्थगित गरिएको थयो ।
३२ वर्षीय मुकेश सिंह, २६ वर्षीय विनय शर्मा, ३१ वर्षीय अक्षयकुमार सिंह र २५ वर्षीय पवन गुप्ता गरी चारैजनालाई फाँसी दिइने सम्भावना भने बलियो छ । अब अर्कोपटक यसरी फाँसीको मिति स्थगित हुने सम्भावना कमजोर छ ।
चारैजनालाई आठ वर्षअघि दिल्लीमा भएको बलात्कारपछि ज्यान गुमाएकी २३ वर्षीया मेडिकल विद्यार्थीमाथि कुकार्य गरेको घटनामा दोषी ठहरिएपछि फाँसी दिन लागिएको हो । दिल्लीमा साँझपख बस रोकेर केटा साथीसँगै चढेकी निर्भया नाम दिइएकी मेडिकल विषयकी विद्यार्थीलाई निर्मतापूर्वक बलात्कार गरिएको थियो । सामूहिक बलात्कारपछि युवती रडले गुप्तांगमा प्रहार गरी फालिएकी थिइन् । सडकमा फालिएकी उनको गम्भीर अवस्थामा उद्धार गरेपनि जीवन जोगिएन । तत्कालिन कँग्रेस आई सरकारले सिंगापुरमा लगेर समेत उपचार ग¥यो । तर, उनको शव मात्र फर्कियो । निर्भयाको शव लिन सोनिया गान्धी समेत इन्दिरा गान्धी विमानस्थल पुगेकी थिइन् । उक्त घटनाले महिला हिंसाविरुद्धका अभियन्ताहरु कडा रुपमा प्रस्तुत भए । भारतमा महिलाहरु असुरक्षित भएको सन्देश गयो ।
घटनाका दोषीहरुलाई सीसीटीभी फुटेजबाट पत्ता लगाइएको थियो । उनीहरु बसमा पर्दा राखेर बढेको पत्ता लाग्यो । बसभित्रै घम्साघम्सीको केही दृश्य पत्ता लगाएपछि पक्राउ गरिएको थियो । पक्राउ गरिएकाहरु दिल्लीको झुपडीवस्तीमा बस्ने गरेका थिए । उनीहरुलाई पक्राउ गरेपछि एकजनाले जेलभित्रै आत्महत्या गरेका थिए ।
आठ वर्षको अदालती प्रक्रियापछि चारजनाको फाँसीको सजाय टुंगो लागेपछि उनीहरुलाई झुण्डाउने डोरी विहारको जेलमा बनिसकेको थियो। जल्लाहद तयार गरिएको थियो।- एजेन्सीको सहयोगमा