Logo

शैक्षिक विभेद हटाउन आकर्षक योजना



काठमाडौँ, २१ फागुन । रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन् ।

मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार घोषणा गरेको छ । स्थानीय स्तरमा छोराछोरीबीच देखिएको शिक्षाको विभेद हटाउन र छोरीलाई पनि छोरासरह शिक्षा दिलाउन गाउँपालिकाले यस्तो घोषणा गरेको हो ।
अब स्नातक तह उत्तीर्ण गर्ने छोरीलाई गाउँपालिकाले पुरस्कारस्वरूप एक लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष केशवानन्द बानियाँले बताएका छन् । सामाजिक कुरीतिका रूपमा रहेको बालविवाह, दाइजो प्रथाका कारण छोरीले बीचमै पढाइ छोड्ने अवस्था रहेकाले गाउँपालिकाले यस्तो निर्णय गरेको उनको भनाइ छ ।

“छोरी बचाऔँ, छोरी पढाऔँ” योजनासहित एक लाख रुपियाँ नगद पुरस्कार दिने घोषणा गरिएको अध्यक्ष बानियाँले जानकारी दिएका छन् । उनले छोरी जन्माउने आमालाई १० हजार रुपियाँ नगद र एक किलोग्राम घिउ पौष्टिक आहारसमेत गाउँपालिकाबाट दिने व्यवस्था मिलाइएको बताए । मधेसी र मुस्लिम समुदायका किशोरी अझै पनि शिक्षाको पहुँचबाट वञ्चित रहेकाले ती समुदायमा स्थानीय सरकारले प्रोत्साहन गर्न आवश्यक ठानेर यस्तो रणनीति अपनाएको उनको भनाइ छ । “किशोरीहरूलाई शिक्षाबाट वञ्चित गरिएकै कारण महिला हिंसा, बालविवाह तथा बेचबिखनका घटना बढिरहेका छन्”–बानियाँले भने–“चेतनाको अभावमा हिंसा सहन महिलाहरू बाध्य मात्रै होइन, बेरोजगार हुँदा बेचिन पनि बाध्य छन् ।

किशोरीलाई शिक्षाको पहुँचमा ल्याउन सके मात्रै महिला हिंसा र समुदायमा भएका विकृति अन्त्य गर्न सकिन्छ । ” गाउँपालिकाको पुरस्कार घोषणाको निर्णयप्रति शिक्षाक्षेत्रमा लागेकाहरूले समेत प्रशंसा गरेका छन् । मनराजीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजदेव मौर्यले गाउँपालिकाले स्नातक उत्तीर्ण छोरीका लागि पुरस्कार घोषणा गरेर सराहनीय काम गरेको बताए । “विगतभन्दा पछिल्लो समय छोरीलाई शिक्षा दिने प्रचलन बढे पनि भेदभाव भने अझै कायमै छ”–उनले भनेका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्