Logo

होली पर्व सुरु



काठमाडौँ, २१ फागुन । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ भएको छ । मङ्गलबार बिहान ७ बजेर ५७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको थियो ।

परम्परा अनुसार सेनाको शार्दुलजङ्ग गुल्मको टोलीले श्लेषमान्तक वनबाट मयलको रुखको हाँगा ल्याएर चीर बनाई हनुमानढोका दरबारको मोहनकाली चोक, त्रिशूलचोक, नासलचोकमा पनि विभिन्न ध्वजासहितको चीर ठड्याइएको छ । लायकू साः का मानन्धर समुदायले गद्दी बैठक सामुन्ने चीर ठड्याए । मयलको रुख लिन श्लेषमान्तक वन पुगेका सेनाले गुह्येश्वरी, गोरखनाथ र पशुपति मन्दिरमा आठ राउन्ड फायर गरेर रुखको हाँगा वसन्तपुर ल्याउने परम्परा छ । चीर ठड्याइएको स्थानमा सर्वसाधारणले पूजाअर्चना थालेका छन् ।

नासलचोकमा भगवान् कृष्णले गोपिनीसँग लीला गरेको प्रतिमा पनि यसै अवसरमा राखिएको छ । विष्णुका भक्त प्रल्हादलाई मार्न बहिनी होलिकाले प्रल्हादलाई काखमा राखेर दहन हुँदा प्रल्हादलाई केही नभएको तर होलिका भने मरेको कथा प्रसङ्ग यो पर्वसँग गाँसिएको छ ।
जात्रापर्व समितिका संयोजक मिठाराम पुडासैनीले परम्परा अनुसार, रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्षबढाईका साथ अबिर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ ।

करिब ३० फिट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याइएका हुन् । चीर उठाएको हेर्न वसन्तपुरमा विदेशी पर्यटकसमेत जम्मा भएका थिए । वसन्त उत्सवका रूपमा समेत मनाइने रङहरूको पर्व होलीको पौराणिक तथा सांस्कृतिक महìव रहेको छ । यसैगरी, भक्तपुरमा दत्तात्रय मन्दिरसँगै रहेको भैरव मन्दिरमा होलीको सुरुवात गरिएको छ । होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहे पनि भक्तपुरमा भीमसेनसँग सम्बन्धित रहेको भनाइ संस्कृतविद् तथा भक्तपुरका स्थानीय गणेशराम लाछीको छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्