Logo

लिखु नदीमा सात आयोजना



काठमाडौँ, २२ फागुन । ओखलढुङ्गा, रामेछाप र सोलखम्बुको सीमा भएर बग्ने लिखु नदीमा सातवटा जलविद्युत् आयोजना निर्माण हुँदै छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाबीच अर्थात् लिखु नदीको हिमाली क्षेत्रदेखि ओखलढुङ्गाको लिखु र रामेछापको लिखु तामाकोसी गाउँपालिकाको बिजुलीकोटसम्म सातवटा जलविद्युत् आयोजना निर्माण हुँदै गरेका हुन् ।

एउटै लिखु नदीको पानी प्रयोग गरी एकैसाथ सातवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि लिखु नदीबाट ३२९।६ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ । पछिल्लो समय नदीको माथिल्लो क्षेत्र लाहा छेवरदेखि बिजुलीकोटको रातामाटासम्म विद्युत् आयोजनाका विभिन्न संरचनाको निर्माण धमाधम भइरहेको छ । रामेछापको उत्तरी बस्ती लाहा छेवरमा भिजन जलविद्युत् आयोजनाले ५८ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्दै छ । आयोजनाले प्रवेशमार्ग र अन्य संरचना निर्माण थालेको छ । आयोजनाको सिभिल संरचनाको काम धमाधम भइरहेको छ । उक्त आयोजनाले उमातीर्थ नजिकै विद्युत्गृह निर्माण गर्ने बताइएको छ ।  त्यस्तै हिमालय प्रालिले प्रवद्र्धन गरेको लिखु १ को ७७ मेगावाट क्षमताको आयोजनाले पनि तीव्र गतिमा काम गरिरहेको छ । उक्त आयोजनामा मुख्य लगानी प्राइम बैङ्क र अन्य छवटा बैङ्क रहेका छन् । लिखु १ को ७७ मेगावाट विद्युत् उत्पादन भई बाहिरिएको पानी प्रयोग गरी लिखु २ आयोजनामा लैजाने कामसमेत भइरहेको छ । लिखु १ आयोजनामा ३० प्रतिशत लगानी मोतीलाल दुगड समूहको रहेको छ ।

प्रतिमेगावाट १८ करोड रुपियाँ खर्च अनुमान गरिएको आयोजना २०७७ साउनमा सम्पन्न गर्ने लक्ष्य दुगड समूहका राजन खत्रीले बताउनुभयो । दुगड समूहकै लगानीमा लिखु २ आयोजनाको काम पनि अघि बढाइएको उहाँको भनाइ छ । आयोजनाको विद्युत् क्षमता ५५ मेगावाट हुने छ । यस आयोजनामा माछापुच्छ«े बैङ्कको मुख्य लगानी छ । उमाकुण्ड १ क्यामाको वाल्दिङ दोभानमा बाँध निर्माण गरी उमाकुण्डकै ठाडो खोलामा निर्माण हुने विद्युत्गृहमा पानी खसालिने बताइएको छ । लिखु २ आयोजनाको काम २०७७ साउनमै सक्ने आयोजनाको लक्ष्य छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्