Logo

कोरोना नियन्त्रण गर्ने उद्देश्य लिएका छौं, योजनाबद्ध काम भइरहेको छ : प्रवक्ता देवकोटा



काठमाडौ., २२ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको सङ्क्रमण फैलन नदिन विश्वव्यापी मान्यतानुरुप योजनाबद्ध ढङ्गबाट काम गरिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिकतामा राखेर यसको नियन्त्रण राख्न कोशिश गरिरहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । “सरकारले उच्चस्तरीय समिति बनाएको छ । त्योबाहेक स्वास्थ्य मन्त्रालयले मन्त्री र सचिवको संयोजकत्वमा समिति बनाएको छ । त्यस्तै महाशाखा प्रमुखको संयोजकत्वमा प्राविधिक समिति बनेको छ”, उनले भने, “तीनवटा समितिमार्फत मन्त्रालयले काम गरिरहेको छ ।”

कोरोना नियन्त्रण गर्ने मुख्य उद्देश्य स्वास्थ्य मन्त्रालयले लिएको उनको भनाइ छ । “कोरोना भाइरस देशभित्र उत्पत्ति नभएका हुनाले यसको मुख्य असर हाम्रो मुलुकमा छैन । बाहिर छ, बाहिरबाट आउनलाई कसरी रोकथाम गर्ने भन्ने हाम्रो प्रमुख ध्यान त्यसतर्फ केन्द्रित छ”, उनले भने ।

औषधिलगायत स्वास्थ्य उपकरणको अभाव हुन नदिने विषयमा अन्य मन्त्रालय र निकायसँग छलफल भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिए । “आवश्यक संयोजन मिलाउने विषयमा हामी जुटिरहेका छौँ । कोरोना भित्रन नदिन, भित्रिएमा रोकथाम गर्न र औषधिजन्य वस्तुको अभाव हुन नदिने संयोजनकारी ढङ्गले सरकारले कदम चालेको छ”, उनले भने ।

सरकारले सङ्क्रमण फैलन नदिन त्रिवि अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनलमा बाह्य मुलुकबाट आउने यात्रुको शारीरिक परीक्षण गर्ने, शङ्कास्पदलाई तुरुन्तै निगरानीमा राखेर उपचार गर्ने, अन्यलाई ‘स्क्रिनिङ’ गर्ने काम गरिरहेको छ । अन्तरराष्ट्रिय मापदण्डअनुसार थर्मल स्क्यानबाट परीक्षण गरिँदै आइएको उनले जानकारी दिए । “विमानस्थलमा स्वास्थ्य जनशक्ति पहिलेको तुलनामा दोब्बर पारेका छौँ”, उनले भने, “हरेक सिफ्टमा छ÷सात जना जनशक्ति विमानस्थलमा खटिइएका छन् । रातिको समयमा चार जना बस्नुहुन्छ ।”

भारतका केही भूभागमा पनि कारोना सङ्क्रिमत देखा पर्न थालेको अवस्थालाई ध्यानमा राख्दै स्थलमार्गबाट आउने व्यक्तिमा पनि परीक्षण गर्न थालिएको उनले बताए । “अहिले सातै प्रदेशमा सातवटा टोली पठाइसकेका छौँ । आजको उच्चस्तरीय समितिको निर्णयअनुसार थप नाकामा स्वास्थ्य टोली खटाएका छौँ”, उनले भने, “केही अत्यावश्यक सामग्री जस्तैः मास्क, थर्मा्मिटरलगायत वन्दोबस्तीका सामग्रीसहित खटाइएको छ ।”

विमानस्थलबाट शङ्का लागेर परीक्षण गर्न ल्याइएका २६ जनामा कोरोनाको सङ्क्रमण नपाइएको उनले बताए । अहिलेसम्म सबैको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रहेका पाँच जनाको रिपोर्ट आउन बाँकी छ ।

स्वदेशमै मास्कको उत्पादन गर्ने विषयमा पनि मन्त्रालयले ध्यान दिएको उनको भनाइ थियो । “अहिले हामीले मास्क उत्पादन गर्ने कम्पनीका प्रतिनिधिलाई बोलाएर जति सक्दो छिटो मास्क उत्पादन गर्न आग्रह गरेका छौँ । भारतबाट आयात गर्ने मास्कलाई फुकुवा गर्ने कुरा पनि भइरहेको छ”, प्रवक्ता देवकोटाले भने, “ औषधि पर्याप्त रहेको छ । औषधिमा कुनै समस्या छैन । हाललाई मौज्दात छ ।”

शुक्रराज ट्रपिकल अस्पताल, पाटन अस्पताल र सेना तथा प्रहरीको अस्पताललाई पहिलो श्रेणीमा राखी अस्पतालको तयारी तीव्र पारिएको उनले जानकारी दिए । “त्यसपछि उपत्यकामा रहेको हब अस्पताललाई पनि कोरोना सङ्क्रमितको उपचारका लागि तयारीको अवस्थामा राख्न अनुगमन गरिरहेका छौँ”, उनले भने,“यस्तै प्रादेशिक अस्पताललाई पनि तयारी अवस्थामा रहन आग्रह गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयसँग पनि समन्वय भइरहेको छ ।” ृृउनले जनतामा भ्रम सिर्जना गर्ने खालका समाचार नदिन पनि सञ्चारमाध्यमलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्