Logo

नेपाल कोरोना भाइरसबाट सङ्क्रमित छैन : सरकार



फाईल तस्बिर/रिपोर्टर्स नेपाल डटकम

काठमाडौं, २२ फागुन । सरकारले नेपाल कोरोना भाइरसबाट सङ्क्रमित नभएको प्रष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रणको आशङ्का गरिएका व्यक्तिमा ‘नेगेटिभ’ देखिएको बताएका छन्।

उनले मुलुकभित्र कोरोना सङ्क्रमित नभएका अवस्थामा मुलुक बाहिरबाट हुन सक्ने सङ्क्रमण रोक्न अन्य मुलुकबाट आउने यात्रुलाई निगरानीमा राख्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताए। “हवाई यात्रुको हकमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ‘स्क्रिनिङ’ गरिएको छ, शङ्कास्पद लागेमा क्वारेन्टाइनमा राखिएको छ”, उनले भने, “स्थलमार्गबाट आउने पर्यटकलाई ‘अनअराइभल’ भिसा नदिने निर्णय भइसकेको छ, त्यसका अतिरिक्त विभिन्न छ वटा मुख्य स्थलनाकामा सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइसकेका छौँ ।

नेपाल–भारतबीच नागरिकको अत्यधिक आवातजावत हुने ३७ नाकामा स्वास्थ्य टोली खटाइएको उनले जानकारी दिए । अन्य नाकामा पनि सरकारले थप व्यवस्था गरेको मन्त्री खतिवडाको भनाइ छ । उपप्रधानमन्त्रीको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको दुई पटक बैठक बसिसकेको जानकारी दिँदै उनले समितिले आवश्यक निर्णय गर्दै आएको बताए ।

समितिको आज बसेको बैठकले कोरोना सङ्क्रमण भित्रन नदिन थप सुरक्षा अपनाइने निर्णय गरेको उनले जानकारी दिए । “खासगरी औषधिको अभाव हुन नदिनलाई मौज्दात राख्ने, आयात गर्ने, भारतले औषधि निर्यातमा लगाएको प्रतिबन्धको हकमा नेपालका लागि विशेष छुट दिन आग्रह गरिएको छ”, मन्त्री खतिवडाले भने, “अत्यावश्यक वस्तुको आपूर्ति र बजारमा कुनै प्रकारको वस्तुको कृत्रिम अभाव हुन नदिने, अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेका छौँ ।” file photo



प्रतिक्रिया दिनुहोस्