Logo

साहित्यको नाममा दुरुपयोग पनि बढ्न थालेको छ- श्रीओम श्रेष्ठ



काठमाडौं, २३ फागुन । साहित्यकार श्रीओम श्रेष्ठका दर्जनौं कृति प्रकाशित छन् । नेपाली साहित्य क्षेत्रलाई समृद्ध बनाउन निरन्तर कलम चलाउँदै आएका श्रेष्ठसँग जयराम सापकोटाले गरेको कुराकानीः

यहाँको लेखन कार्य विशेषतः साहित्य कहिलेबाट सुरु भयो ?

मेलै विद्यालयमा पढ्दादेखि नै कविता र कथा लेख्न थालेको थिएँ तर साहित्य नै भनेर लेख्न थालेको भने विक्रम सम्वत् २०३३÷३४देखि हो ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?

सुरुका दिनमा कसैसँग प्रभावित भएर भन्दा पनि एक प्रकारको उमेरको जोशले लेखाएको हो जस्तो लाग्छ । पछि साहित्यिक रचना पढ्न थालेपछि केही लेखकबाट प्रभावित भएको हुँ ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ? वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
अन्य नयाँ कृतिको तयारीमा पनि हुनुहुन्छ कि ?
लेखकका लागि लेख्ने काम एक प्रकारको नियमित प्रक्रिया नै हो । तर अहिले म बढी व्यस्त हुनुपरेकोले गर्दा लेखनमा केही सुस्तता आएको छ । तर लेख्दै नलेखेको भने होइन । अहिले प्रकाशनमा त्यति हतारो नलागेको मात्र हो ।

आफ्नो लेखनमा पूर्ण सन्तुष्टि त कहिले हुन्छ होला र खै ? तर जहिले पनि बढी सन्तुष्टि हुनका लागि नै लेख्ने गर्छु । प्रविधिले गर्दा अहिलेको साहित्य लेखन पनि धेरै सहज भएको छ । त्यही कारण सिर्जना पनि धेरै हुन थालेका छन् तर विधागत उन्नयन र सामाजिक जिम्मेवारीका दृष्टिले लेखिएका सिर्जना भने खासै बढ्न सकेका छैनन् जस्तो लाग्छ ।
अहिले म आत्मपरक निबन्ध र नियात्रा सङ्ग्रहको अन्तिम तयारीमा लागिरहेको छु ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?

स्रष्टा र साहित्यप्रति राज्यको जस्तो जिम्मेवारी हुन्छ– त्यस्तै जिम्मेवारी राज्यप्रति स्रष्टाको पनि हुनुपर्छ । राज्यले स्रष्टालाई गर्ने सम्मान बढाउँदै गएको देखिन्छ ।
तर स्रष्टा र सिर्जनाको मूल्याङ्कनमा राज्य पक्ष प्रभावमा पर्ने गरेका कारण कतिपय निर्णय र नियुक्ति निष्पक्ष हुन नसकेको गुनासो पनि बढेको पाइन्छ ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?

मलाई लाग्छ– प्रत्येक लेखकले लेखकीय दायित्व पूरा गर्ने प्रयास गरिरहेकै हुन्छ । कुरा सामाजिक दायित्वको हो । त्यसमा भने धेरै लेखक जिम्मेवार बन्न सकेको जस्तो लाग्दैन । मेरो सिर्जना हो मैले जे लेखे पनि हुन्छ भन्ने मानसिकता बढी हावी भएको देखिन्छ ।
कुनै पनि लेखकले आफ्ना सिर्जना आत्मसन्तुष्टिका लागि मात्र लेख्छु भन्छ भने त्यस्ता रचना सिरानीमुनि वा दराजतिर मात्रै थन्क्याउनुपर्छ । सार्वजनिक गर्नु हुँदैन । लेखकले आफ्नो रचना वा कृति सार्वजनिक गरेपछि त्यो समाजको हुन्छ । त्यसैले समाजप्रति जिम्मेवार बन्न नसक्ने लेखकको सिर्जनाको क्षणिक प्रयोग हुन सके पनि त्यसको चिरकालिक महत्व र मूल्य पनि हुँदैन ।

तपार्इं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
सामान्यतया आफ्ना कृतिबाट सन्तुष्ट नभइकन कृति प्रकाशन नै हुँदैन तर अध्ययन र अनुभव बढ्दै गएपछि भने अझै सुधारेर राम्रो बनाउन सकिने रहेछ भन्ने लाग्छ । मलाई पनि केही कृतिमा त्यस्तो लागेको छ । तर मैले भने त्यसलाई त्यही समयको रूपमा लिने गरेको छु र सधैँ नयाँ कृतिलाई राम्रो बनाउने प्रयास गरेको छु ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
नेपाली साहित्यमा हिजोका लेखक सुरुमा जसरी चिनियो– त्यही परिचयमा नै जीवन बिताउने गर्दथे । तर आजका लेखकहरु दिनैपिच्छे आफ्नो परिचय पृथक् बनाउने अभ्यासमा लागिरहेका हुन्छन् । हिजोको लेखन आदर्श र परम्परामा बढी आधारित हुन्थे भने अहिले अनुभव र व्यवहारमा हुने गरेका छन् । हिजो आकाशमा तारा हेरेर सिर्जना गर्ने बढी थिए । अहिले अध्ययन र अनुभवका आधारमा नयाँ शैलीसहित स्वत्व देखाउनेगरी सिर्जना गर्न खोज्छन् । यही कारण अहिलेका सिर्जनाले समय र मानिसलाई बढी छुने गरेको पाइन्छ ।

तपाईंंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
साहित्यमा शक्ति हुने भएकाले साहित्यलाई सस्तो रूपमा प्रयोग गर्नु हुँदैन भन्ने ठान्छु ।
साहित्य समाजोपयोगी र सार्थक सोचको नै हुनुपर्छ । तर, शोख र प्रतिष्ठाका लागि पैसाको भरमा माध्यम अपनाएर स्रष्टा बन्नेका सङ्ख्या बढ्दै गएका छन् । यस्तो समयमा साहित्यको नाममा दुरुपयोग पनि बढ्न थालेको छ ।

लेखनप्रति केले पे्ररणा दिन्छ जस्तो लाग्छ ?
सबैका आ-आफ्ना अनुभव होलान् । मलाई भने मानिसका देखिनेभन्दा नदेखिने स्वरूपले प्रेरणा दिने गरेको छ । त्यसो त आफ्नो कृति बढी प्रचार भएर वा पुरस्कार पाएर पनि केही प्रेरणा मिल्न सक्ला तर त्योभन्दा बढी सार्थक प्रतिक्रिया र आफ्ना रचनाले समाजमा पारेको प्रभावले बढी प्रेरणा दिन्छ जस्तो लाग्छ मलाई ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?
पहिले म प्रायः राति एकान्त भएपछि मात्र लेख्थेँ । अहिले त्यस्तो छैन । अहिले धेरै जस्तो आवश्यकताअनुसार लेख्ने गरेको छु । लेख्नका लागि कुनै निश्चित समय बनेको छैन ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?
लेख्नलाई मलाई भौतिक वातावरणभन्दा आत्मिक वातावरण चाहिन्छ । लेख्नलाई मानसिक रूपमा तयार नहुन्जेल म लेख्न सक्दिनँ ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
लेख्नलाई मानिस र समयभन्दा राम्रो विषय केही हुँदैन जस्तो लाग्छ । म त्यस्तै विषयको खोजी गरिरहेको हुन्छु ।

सफल स्रष्टाका आवश्यक गुण के÷के हुन् ?
यसमा पनि आआफ्ना तर्क होलान् । तर मलाई भने लेखकको अध्ययन, अनुभव, स्वत्व इमान्दारी, निरन्तरता, जिम्मेवारी, सिर्जना र व्यवहारमा सामन्जस्य नै हुनुपर्छ जस्तो लाग्छ ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
आख्यानमा उपन्यास र निबन्धमा नियात्रा तथा संस्मरणका पाठक बढ्दै गएका छन् ।
सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
सिर्जनामा सजीवताको नै महत्व हुन्छ, त्यसलाई सिंगारपटार गर्नका लागि काल्पनिकताको पनि आवश्यकता पर्छ ।

लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
जतिबेला कुनै विषय वा सन्दर्भले भित्रसम्म छुन्छ– त्यतिबेला नलेखुन्जेल घच्घच्याइरहन्छ । अरु कसैले नसुन्ने घण्टी भित्र कतै बजिरहन्छ ।

साहित्यकार नहुनुभएको भए के हुने सम्भावना थियो ?
सम्भावना भनेको जहिले पनि खाली नै हुने कुरा हो । तर पनि राम्रो कलाकार वा खेलाडी बन्न सक्थेँ कि जस्तो लाग्छ ।
नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
आजको प्रविधिको विकासले पनि हुन सक्छ– नयाँ लेखकहरुमा लेखनमा भन्दा प्राप्तिमा हतारो भएको देखिन्छ । कुनै निश्चित ठाउँमा पुगेपछि जितिने दौड प्रतियोगिता होइन साहित्य । साहित्यमा दौडेर कहीँ पनि पुगिँदैन । दौडेर धेरै अगाडि पुगेँ भन्ने भ्रम पाल्नेहरु केही समयपछि खोजेर पनि नभेटिने भएका छन् । साहित्य साधना हो निरन्तरको । नाम र सम्मानको लोभमा साहित्यकार बन्छु भन्नु केही समयको भ्रममात्र हो भन्ने मलाई लाग्छ ।
श्रीराम श्रेष्ठको परिचय
नाम ः श्रीओम श्रेष्ठ ‘रोदन’
जन्ममिति ः वि.सं. २०१९ लक्ष्मीपूजा
हालको ठेगाना ः झम्सीखेल, ललितपुर
पिता÷माताः शिवप्रसाद श्रेष्ठ÷बेलकुमारी श्रेष्ठ
अध्ययन ः बीए÷बीएड
प्रथम प्रकाशित रचना ः कविता (वि.सं. २०३६)
प्रकाशित कृति ः
१. ललिता (कवितासङ्ग्रह) २०४५
२. सरगम (सं. कवितासङ्ग्रह) २०४७
३. संवेदनाका स्वरहरु (संयुक्त निबन्धसङ्ग्रह) २०५४
४. अर्थहीन अर्थहरु (निबन्धसङ्ग्रह) २०५५
५. आँखीझ्याल (पहिलो हस्तलिखित लघुकथासङ्ग्रह)२०५८
६. शुभारम्भ (सम्पादन–लघुकथासङ्ग्रह) २०५४
७. सञ्चयन (सम्पादन– लघुकथासङ्ग्रह) २०५५
८. समयका सम्भावनाहरु (निबन्धसङ्गह) २०५९
९. समुद«पारि समुद्रवारि (नियात्रासङ्ग्र्रह) २०६०
१०. नबिर्सने दिनहरु (नियात्रासङ्ग्र्रह) २०६२
११. प्रसगंवश (अन्तर्वार्तासड्ग्रह) २०६७
१२ं भ्रममार्ग (लघुकथासङ्ग्रह) २०६७
१३. चराका कथा (सम्पादन ) २०६९
१४. एक्लो परिचय (निबन्धसङ्ग्रह ) २०६९
१५. भनौँ कि नभनौँ (निबन्धसङ्ग्रह )२०७३
१६. आजका लघुकथा (लघुकथासङ्ग्रह ) २०७४

पुरस्कार÷सम्मान ः
१.हरिकला –गुणाकरदायित्व रचना पुरस्कार –२०६८
२ भद्रकुमारी घले सेवा सदन पुरस्कार –२०६८
३. प्रतिभा युवा सम्मान – २०५४
४. उत्तम शान्ति पुरस्कार – २०५४ लगायत

सम्पादन १ . एक दर्जन साहित्यिक पत्रिका
२ ं एक दर्जनभन्दा बढी कृति
प्रकाशनोन्मुख कृति ः दुई



प्रतिक्रिया दिनुहोस्