Logo

बैकिङ च्यानल थपिए पनि घटेन हुन्डी कारोबार



काठमााडै, फागुन २३ । सरकारले औपचारिक च्यानल (बैंकिङ च्यानल) बाट रेमिट्यान्स ल्याउन प्रोत्साहन गरे पनि अझै हुन्डीमार्फत रकम आइरहेको छ । वैदेशिक रोजगारीमा रहेका कामदारलाई नेपालमा रेमिट्यान्स पठाउन महँगो शुल्क तिर्नुपर्ने बाध्यकारी व्यवस्थाले गर्दा पछिल्लो समय दिन दुई गुना रात चौगुना भनेजस्तै हुन्डी कारोबार दिन प्रतिदिन फस्टाउँदै गएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिनामा तीन खर्ब चार अर्ब रेमिट्यान्स भित्रिएको छ । गत आ.व.मा आठ खर्ब ७९ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको थियो । आ.व. २०७६÷७७ को दोस्रो महिनादेखि रेमिट्यान्स प्रवाहमा २.३ प्रतिशत घटेको छ । रेमिट्यान्सको ६० प्रतिशतभन्दा बढी अनौपचारिक माध्यमबाट आउने गरेको सरकारी अनुमान छ ।

राष्ट्र बैंकका अनुसार गत आ.व.मा भारतबाट एक खर्ब २८ अर्ब ५० करोड अनुसार रेमिट्यान्स भित्रिएको थियो । त्यसमध्ये ३८ अर्ब अनौपचारिक र ९० अर्ब ५० करोड रेमिट्यान्स औपचारिकबाट भित्रिएको तथ्यांक छ ।

हुण्डी एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउने अवैध तरिका हो । विभागले कारोबारीलाई बिगोको तेब्बरसम्म जरिवानासहित तीन वर्ष कैद सजाय माग दाबी गरेको छ । यसो हुँदा हुँदै पनि हुण्डी कारोबार रोकिएको छैन ।

हुण्डीमार्फत आतंकवादी संगठनलाई सहयोग पुगेको भन्दै युरोप र अमेरिकाले पनि यस्तो कारोबारलाई बन्द गरेका छन् । तर नेपालमा यो अवस्था छैन । वैध तरिकाले भन्दा हुण्डीबाट पैसा पठाउँदा छिटो र कम शुल्क लाग्ने भएकाले मान्छेहरु हुण्डीको कारोबारमा लाग्ने गरेका हुन् ।

विभिन्न व्यवसायीको आवरणमा गिरोहले अन्तर्राष्ट्रिय रूपमा पैसाको ओसारपसार गर्ने तथा आपराधिक क्रियाकलापको लागि समेत हुण्डी हुने गरेको अपराध महाशाखाको अध्ययनले देखाएको छ । हुण्डी मार्फत कतिपय नेपालीले कालो धनलाई सेतो पार्न पनि हुण्डी गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् । नेपालबाट अवैध रूपमा विदेश जाने पैसा पनि हुन्डीमार्फत नै जान्छ । गोप्य सूचनाका आधारमा सीमित कारोबारीलाई विभागले अनुसन्धानको दायरामा ल्याए पनि अर्बौं रुपैयाँको हुन्डी कारोबार हुँदै आएका छन् ।

विदेशबाट रेमिट्यान्स ल्याउन राष्ट्र बैंकले तीन दर्जनभन्दा बढी कम्पनीलाई अनुमति दिएको छ । तर हुन्डी कारोबार रोकिएको छैन । हुन्डी कारोबारीले विभिन्न मुलुकमा सञ्जाल खडा गरेर कारोबार गर्दै आएका छन् ।

सरकारले औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन उत्प्रेरित गर्ने उपयुक्त नीति र कार्यक्रम ल्याउन नसक्दा कामदार हुण्डीतर्फ आकर्षित हुने गरेका छन् । रेमिट्यान्स कम्पनी नपुगेको ठाउँमा कामदारले चर्को शुल्क तिर्न बाध्य छन् । रेमिट्यान्स सेवा नहुने बैंकबाट रकम पठाउँदा शुल्क बढी लाग्छ । आउजाउ गर्न समस्या हुने भएकाले पनि कामदार त्यसको विकल्प हुन्डी नै रोज्छन् । तर हुण्डी मार्फत पैसा पठाउदा भरपर्दाे हुँदैन भने पैसा बिचौलियाले खाइदिन सक्ने जोखिम पनि उत्तिकै हुन्छ ।



प्रतिक्रिया दिनुहोस्