Logo

मास्कको हाहाकार, नियन्त्रणको पहल भएन



काठमाडौ, फागुन २३ । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो त्रासबीच चिकित्सकले मास्क प्रयोग गर्न सुझाइरहेका छन् । तर बजारमा मास्क भने किन्नै पाइँदैन । पाइहाले पनि व्यापारीले महँगोमा बेच्न थालेका छन् । अधिकांश व्यापारीले मास्क लुकाएर कृत्रिम अभाव सिर्जना गर्न थालेका छन् ।

नेपालमा तीन उद्योगले मास्क उत्पादन गरिरहेका छन् । बनेपाको साँगामा सञ्चालित साँगा क्लिन सिटी उद्योगले दैनिक पाँच हजारदेखि १० हजार थानसम्म नर्मल मास्क उत्पादन गर्छ । काठमाडौंको बौद्धस्थित उद्योगले दैनिक तीन हजार थान नर्मल मास्क उत्पादन गर्छ । बुटवलमा रहेको उद्योगले कपडाको कटन मास्क उत्पादन गर्छ । यी उद्योगको दैनिक क्षमता साढे १३ हजार थानसम्म मास्क उत्पादन छ । यसरी मागअनुसार मास्क बनिरहेता पनि नेपालमा नै उत्पादन हुने मास्कको अभाव सिर्जना गर्दा उपभोक्ता भने मारमा परेका छन् । छिमेकी मुलुक चीनमा कोरोना भाइरसको संक्रमण र नेपालमा पनि केही व्यक्तिमा त्यसको आशंका गरिएपछि बजारमा सर्जिकल मास्कको माग बढिरहेको छ । माग बढिरहेको मौकामा व्यवसायीले मूल्य बढाएर कालो बजारी गर्न थालेका हुन् ।

बजारमा अहिले कारोना भाइरसको संक्रमणबाट बच्न ‘एयर फिल्टर मास्क’ को माग बढी छ । डेढ महिनादेखि बजारमा भाइरस फिल्टर गर्ने ‘एन–९५’ मास्क अभाव भएको सर्जिकल व्यवसायी बताउँछन् । तर दुई सातायता पेपर (डिस्पोजेबल) मास्कको समेत अभाव देखिन थालेको छ । तीन साता अघिसम्म प्रतिगोटा पाँच रुपैयाँ पर्नेलाई २० देखि २५ रुपैयाँ र १० रुपैयाँ पर्नेलाई ४०÷५० रुपैयाँसम्म असुलेका खुद्रा व्यापारी यतिबेला थोकमै किन्न नपाएको बताउँछन् । एकपटक लगाएर मिल्काउन हुने डिस्पोजेबल मास्क सस्तो र सजिलो हुने भएकाले गत महिनासम्म सर्वसुलभ थियो । यतिबेला त्यो सस्तो र सजिलो मास्क त पाइँदै पाइँदैन, महँगो भए पनि सुरक्षित मानिएका एन–९५ लगायतका मास्क पनि किन्न नपाउँदा सर्वसाधारण आजित छन् । कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेको बेला यसबाट नेपाल अछुतो पक्कै हुदैन । भोलि साँच्चै नेपालमा कोरोना भित्रियो र स्वास्थ्यकर्मीले नै मास्क पाएनन् भने भाइरस आउँछ र आफूमात्र सुरक्षित हुनुपर्छ भन्ने स्वार्थबाट माथि उठेर अनावश्यक रूपमा मास्क थुपार्ने काम बन्द गर्नुपर्छ । त्यसैले मास्कको कालो बजारी बढिरहँदा नियामक निकायको सक्रियता जरुरी देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्