Logo

पर्यटन क्षेत्रमा कोरोना आतंक



काठमाडौ, फागुन २३ । विश्वमा आतंक फैलाउने कोभिड १९ अर्थात् कोरोना भाइरसको प्रभावले नेपालको पर्यटन व्यवसाय धराशायी बन्ने अवस्थामा पुुगेको छ । विदेशी मुुद्रा आर्जनको मुख्य स्रोतका रूपमा रहेको पर्यटन व्यवसायमा यतिबेला मन्दी देखिन थालेको छ । कोरोना भाइरसको प्रभावले पर्यटन व्यवसायसँगै प्रत्यक्ष सरोकार राख्ने होटल र ट्रेकिङ व्यवसायको व्यापारमा व्यापक कमी आएको छ ।

नेपाल पर्यटन विभागमा दर्ता भएका एक सय ३० वटा तारे होटल, छ सय २५ वटा पर्यटकीय स्तरका होटल र दुई सय २६ वटा होमस्टे सेवामा पर्यटकीय चहलपहल पातलिएको छ । होटलको अकोपेन्सी दर १३ प्रतिशतमा खुुम्चिएको छ । होटल एसोसिएशन अफ नेपाल (हान) का अनुुसार नेपालमा तारे र बेतारे होटलको कोठा संख्या २५ हजार रहेको छ– जसमध्ये २० हजार तीन सय काठमाण्डौ उपत्यकामा र बाँकी रहेको चार हजार सात सय उपत्यकाबाहिरका सहरमा रहेका छन् ।

धमाधम रद्द भइरहेको अन्तर्राष्ट्रिय उडानले गर्दा पर्यटकले प्रिबुुकिङ गरेका होटलका कोठा रद्द भइरहेका छन् । झन त्यसमाथि विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा राखेकाले विदेशी पर्यटक नेपाल आउन हिच्किचाइरहेको होटल व्यवसायीहरु बताउँछन् ।

नेपालको पर्यटन व्यवसायका लागि चीन दोस्रो ठूलो बजार हो । चीनको हुुवेई प्रान्तस्थित वुुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमणसँगै चीनबाट नेपाल आउने पर्यटकको संख्या फेब्रुअरी महिनामा व्यापक कमी आएको छ । अध्यागमन विभागका अनुुसार फेब्रुअरी महिनामा नेपालमा तीन हजार दुई सय ८५ चिनियाँ पर्यटक हवाइ मार्ग हुुँदै भित्रिएका छन् । गत वर्षको सोही अवधिमा भने १४ हजार एक सय ६१ पर्यटक हवाइ मार्ग हँुुदै नेपाल आएका अध्यागमन विभागले जनाएको छ । कोरोना भाइरसले पर्यटन क्षेत्र प्रभावित भएसँगै काठमाडौंसहित देशका अन्य सहर चितवन, पोखरा, भैरहवा, विराटनगरका होटल पनि सुनसान बन्न थालेका छन् । होटलहरुमा अहिले फाट्टफुुट्ट भारतीय र युुरोपेली पर्यटकमात्रै देखिन्छन् । पर्यटन व्यवसायसँग जोडिएको अर्काे मुख्य क्षेत्र ट्रेकिङ व्यवसाय पनि कोरोना भाइरसबाट प्रभावित बनेको छ । ट्रेकिङका लागि विश्वमा परिचित नेपालका पदमार्ग यतिबेला पर्यटकहीन बन्न पुुगेका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपालमा आबद्ध एक हजार सात सय ३८ वटा ट्रेकिङ कम्पनी पनि अहिले पर्यटक अभाव झेलिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्