काठमाडौं, २३ फागुन । विश्वभर फैलिइरहेको कोरोना भाइरसले सर्वसाधारण त्रसित भइरहँदा नेपालभित्र सरकारी निकाय नै त्रास फैलाउन उद्दत देखिएको छ । गृह मन्त्रालय अन्र्तगतका जिल्ला प्रशासन कार्यालयहरुले सजग र सचेत हुन आग्रह गर्दा सामान्य जनता झन् त्रसित भएका छन् ।
विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुबीच कोरोना भाइरसबाट सचेत हुन भन्दै विज्ञप्ति जारी गर्ने प्रतिष्पर्धा चलेको छ । यसमा काठमाडौं जिल्ला प्रशासन कार्यालय पनि परेको छ । होली नखेल्ने अभिप्राय विज्ञप्तिमा हुँदा झन् अन्यौल र त्रास बढेको देखिन्छ ।
शिक्षा मन्त्रालयले विद्यालयहरुलाई ५ चैत्रभित्र परीक्षा सक्न भनेको छ । उसले कोरोना भाइरसलाई नै कारण देखाएको छ । तर, शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले स्कुल कलेज बन्द गर्नुपर्ने अवस्था नभएको बताएका छन् ।
स्वास्थ्य सेवा विभागका निर्देशक महेन्द्र प्रसाद श्रेष्ठ पनि विद्यालय र कलेज बन्द गर्नुपर्ने अवस्था नभएको बताउँछन् । कोरोना भाइरसको संक्रमित अहिले नेपालमा कोही पनि नरहेको उनको भनाई छ । विगतमा एकजना संक्रमित भेटिएपनि उनी स्वस्थ भएर घर फर्किइसकेका छन् । स्वास्थ्य सेवा विभागले कुनैपनि तथ्यांक नलुकाएको स्पष्ट पारेको छ ।
देशमा कोरोना भाइरसको संक्रमण नदेखिएपनि सजगता अपनाउनेतर्फ ध्यान दिनुपर्नेमा जिम्मेवार सरकारी निकाय नै त्रास फैलन अवस्था सृजना गर्न जिम्मेवार देखिएका छन् । सुरक्षाका उपाय र तयारी गर्नुपर्नेमा उल्टै फैलिइसकेको जसरी सन्देश जानेगरी प्रस्तुत भएका छन् ।
यतिसम्मकी कतिपय नगर र गाउँपालिकाहरु समेत विज्ञप्ति निकाल्ने प्रतिष्पर्धा गर्न थालेका छन् । कतिपयले विद्यालय कलेज बन्द गर्न भनेका छन् । यसले झन् भ्रम फैलिई त्रास मच्चिने खतरा बढेको छ ।
कोरोना भाइरसको सम्भावित खतरा देखाउँदै कालाबजारी सक्रिय भइसकेका छन् । महङ्गी बढ्न थालेको छ । बजारमा मास्कको अभाव देखिनथालेको छ । यसले २०७२ सालको महाभूकम्पभन्दा पनि खतरनाक अवस्था आउने सम्भावना बढेको छ ।