Logo

प्रधानमन्त्रीको स्वास्थ्यलाभ गर्न पुगेका पौडेल र पोखरेलबीच प्रदेशको राजधानीबारे चर्चा



काठमाडौं, २४ फागुन । प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न त्रिवि शिक्षण अस्पताल पुगेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु प्रसाद पौडेल र प्रदेश नम्बर-५ का मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलबीच प्रदेश नम्बर ५ को स्थायी राजधानीबारे बहस भएको छ । त्यो विषयमा बहसको सुरुवात भने पत्रकार ऋषि धमलाको कारण भएको हो ।

अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यबारे नियमित स्वास्थ्य बुलेटिन निकाल्ने कार्यक्रममा सहभागी हुन पत्रकार धमला अस्पताल पुगेका थिए । धमला अस्पताल प्रवेश गर्नेबित्तिकै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रदेश नम्बर ५ को स्थायी राजधानीको प्रसंग उठाउँदै पत्रकार धमलालाई ‘लौ आज यसबारेमा अन्तर्वार्ता लिनुहोस’ भनेर सुझाएका थिए ।

पत्रकार धमलाले पनि आफू त यसको लागि तयार भएर बसेको सुनाउँदै आजै ईन्टरभ्यु लिने बताएका थिए । संगै रहेका प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले चाहीँ पत्रकार धमलाको उपस्थिति हुनेबित्तिकै माहोल जम्ने सुनाए । प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको लागि नेताद्धय पौडेल, पोखरेल, सल्लाहकारद्धय भट्टराई र थापासँगै सांसद कोमल वली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ पनि सँगै थिए ।

प्रेस सल्लाहकार थापाले प्रदेश नम्बर ५ को राजधानीबारे तत्काल ईन्टरभ्यु लिन सुझाउँदा नेताद्धय पौडेल र पोखरेल भने मुसुमुसु हाँसेर बसेका थिए । यो विषयमा नेताद्धयसँग अन्तर्वार्ता गरे सबैभन्दा बढि हेर्ने कार्यक्रम बन्नेसमेत त्यहाँ उपस्थिति नेताहरुको भनाई थियो ।

यत्तिकैमा नेता पोखरेलले प्रतिक्रिया दिए,‘मसँग अन्तर्वार्ता लिन त बुटवलमै आउनुपर्छ । म यहाँ ईन्टरभ्यु दिन्न ।’ धमलाले पनि तत्काल जवाफ फर्काए,‘म ईन्टरभ्यु लिनको लागि दिल्ली त पुगेको छु । वासिंगटन डिसीपनि पुगेको छु । तपाई शक्तिशाली मान्छे हो । म अन्तवार्ता लिन बुटवल नै आएँछु ।’

धमलालाई दाङबाट प्रतिनिधित्व गर्ने सांसद कोमल वलीले दाङमै स्थायी राजधानी बनाउने भएमात्रै अन्तवार्ता लिन धमलालाई सुनाएकी थिईन् । तर, धमलाले आफू कसैको पनि पक्ष वा विपक्ष नलिईकन अन्तर्वार्ता लिने स्पष्ट पारेका थिए ।

भोलि यदि साँच्चिकै अन्तर्वार्ता भए दुवैजना नेता झगडा गर्नुहुन्छ कि सहमतिमा राजधानीबारे टुँगो लगाउनुहुन्छ भन्ने प्रश्नमा नेताद्धय पौडेल र पोखरेल मौन बसेका थिए । तर, उनीहरुले हाँसेर यो विषय टारेका थिए । नेपाल स्काउटका तथर्द समितिका संयोजक लोकबहादुर भण्डारीले पनि नेताद्धयबीच यो विषयमा अन्तवार्ता लिन सुझाएका थिए । उनले त उक्त अन्तर्वार्ता धेरै नेपालीले हेर्नेपनि प्रतिक्रिया दिए । file photo/Source: Social media



प्रतिक्रिया दिनुहोस्