फागुन २४, काठमाण्डौ । कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनको प्रभाव जति छ त्योभन्दा बढि भ्रम र त्रास फैल्याइएको देखिन्छ । भाइरसले संक्रमण गर्नासाथ मानिसको मृत्यु नै हुने झँै गरी यसलाई प्राणघातक रोगको संज्ञा दिइएको छ । तर स्वस्थ मानिसमा कोभिड नान्टिन प्रवेश गर्दैमा मृत्यु हुने सम्भावना ज्यादै कम देखिएको छ ।
विश्व स्वास्थ्य संगठनको टोलीले बेइजिङ, सनचन, क्वान्चाव र छेन्दुजस्ता मुख्य शहरमा गरेको अध्ययनपछि केही जानकारीमूलक एवं रोचक तथ्यहरु पत्ता लगाएको छ । अध्ययनअनुसार कोभिड नाइन्टिन अर्थात कोरोना भाइरस संक्रमितमध्ये ८८ प्रतिशतमा ज्वरो र ६८ प्रतिशतलाई सुख्खा खोकी लागेको देखिन्छ । त्यस्तै ३८ प्रतिशतलाई अति थकान हुने पाइएको छ । खोकी र कफको समस्या ३३ प्रतिशतमा देखियो भने १८ प्रतिशतलाई स्वासप्रस्वासमा गाह्रो भएको देखिएको छ ।
घाँटीमा घाउ हुने र टाउको दुख्ने लक्षण समान १४ प्रतिशत देखियो । शरीरको मासु दुख्ने समस्या पनि १४ प्रतिशत संक्रमितमा देखियो । ११ प्रतिशतलाई चिलाउने, ५ प्रतिशतलाई वान्ता हुने, ५ प्रतिशतको नाक पोल्ने र ४ प्रतिशतलाई दिसा लागेको थियो । नाकबाट सिंगान बग्नुलाई भने विज्ञहरुले संक्रमणको लक्षण मानेका छैनन् । ४४ हजार ६ सय ७२ संक्रमित मानिसमा गरेको अध्ययनमा ३.४ प्रतिशत मृत्युदर पुष्टि भयो । संक्रमितको मृत्युमा उमेर, स्वास्थ्य स्थिति, लिङ्ग र स्वास्थ्य सेवा प्रणालीले असर गर्ने पाइएको छ ।
चीनमा कोभिड संक्रमित २० प्रतिशत मानिसलाई एक साता लामो अस्पतालको उपचार सेवा आवश्यक र्पयो । संक्रमितको मृत्युदरमा संक्रमण हुनुअघि रहेको उसको स्वास्थ्यस्थितिले पनि असर गर्छ । चीनमा मृत्यु हुनेमध्ये १३.२ प्रतिशतमा पहिलेदेखि नै मुटुको समस्या देखियो । त्यसैगरी ९.२ प्रतिशत संक्रमितको मृतकमा मधुमेह देखियो । उच्च रक्तचापको समस्या ८.४ प्रतिशत र ८ प्रतिशतमा स्वासप्रस्वासको समस्या रहेछ । मृत्यु हुजे संक्रमितमध्ये ७.६ प्रतिशत मानिसलाई क्यान्सर भएको रहेछ । १.४ प्रतिशत मृतकमा मात्र कुनै किसिमको स्वास्थ्य समस्या नदेखिएको अनुसन्धानबाट पुष्टी भएको छ ।
त्यस्तै उमेर समूह र कोरोना भाइरस संक्रमणको प्रत्यक्ष सम्बन्ध रहेको छ । उमेर जति कम भयो संक्रमणको सम्भावना त्यति नै कम हुन्छ । संक्रमित भइहालेको अवस्थामा पनि कम उमेरकाहरुको अवस्था गम्भीर भने हुँदैन । लैङ्गिक अवस्थाले पनि कोरोना संक्रमितको मृत्युदरमा असर पारेको देखियो । महिला पुरुष दुवै यस भाइरस संक्रमणको जोखिममा छन् । तर संक्रमितमध्ये २.८ प्रतिशत महिलाको मृत्यु हुँदा पुरुषमा ४.७ प्रतिशत संक्रमितको निधन भएको देखियो । गर्भवती महिला भने तुलनात्मक रुपमा ज्यादा जोखिममा रहन्छन् । संक्रमित आमाबाट जन्मिएका ९ शिशुको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएन ।