एजेन्सी, २५ फागुन । कोरोना भाइरसबाट विश्वभर मर्नेको संख्या ३५ सय कटेको छ । आइतबार साँझसम्म अधिकांश मृत्युको घटना चीनमा भएको छ ।
चीनपछि इटाली, इरान र दक्षिण कोरियामा बढी मानिसहरुको मृत्यु भइरहेको छ । संक्रमितको संख्या पनि ती देशमा ह्वात्तै बढेका ेछ ।
इरानमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १९४ पुगेको छ । संक्रमितको संख्या ६५६६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हङकङमा कोरोना भाइरसको संक्रमणले तीन जनाको ज्यान गएको छ । मर्नेमा वृद्धवृद्धा छन् ।
इटालीले कोरोना भाइरसको संक्रमण फैलन नदिन कडा कदम चालेको छ । उसले देशको उत्तरी भागलाई बन्द गरेर भाइरस फैलन नदिने रणनीति अपनाएको छ ।
दक्षिण कोरियामा संक्रमितको संख्या ७१०० कटेको छ । आजमात्र झण्डै चार सय नयाँ संक्रमित फेला परेका छन् । त्यहाँ ५० जनाको मृत्यु भइसकेको छ ।
अमेरिकामा पनि कोरोना भाइरस फैलिएको छ । अमेरिकामा भाइरसबाट १९ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा ४४४ संक्रमित भेटिएका छन् ।
अर्जेन्टिनामा एक ६४ वर्षीय मानिसको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ । दक्षिण अमेरिकामा पहिलोपटक कोरोना भाइरसबाट मृत्यु भएको हो ।