Logo

पच्चीस मेगावाट सौर्य ऊर्जा थपिँदै



काठमाडौँ, २६ फागुन । मुलुकको सबैभन्दा ठूलो सौर्य विद्युत् आयोजनाका रुपमा नुवाकोटमा निर्माणधिन २५ मेगावाटको आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ।

आयोजनाको कूल २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत् आगामी वैशाखभित्र उत्पादन गर्ने गरी काम भइरहेको छ । यस्तै थप १० मेगावाटका लागि भने जग्गा छनोट तथा अन्य प्राविधिक काम जारी रहेको छ । प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत् केन्द्रका नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन गर्ने गरी व्यवस्थापन गरिएको छ । विद्युत् केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र विद्युत् गृह नजिक रहेका तीन ठाउँमा पाँच मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान धमाधम भइरहेको छ । एउटा प्यानलबाट २७५ वाट विद्युत् उत्पादन हुने छ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।

देविघाट विद्युत्गृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६÷३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकद्वय हरराज न्यौपाने र बज्रभूषण चौधरीलगायतको टोलीले शनिबार आयोजना निर्माणस्थलको निरीक्षण गरी निर्माणमा देखिएका समस्या, विद्युत् उत्पादन मितिलगायतका विषयमा छलफल गरेको प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत सोलारबाट उत्पादित विद्युत् जडानको वैकल्पिक व्यवस्था गर्न निर्देशन दिनुभएको प्राधिकरणको भनाइ छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्