काठमाडौं, फागुन २६ । नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको छ। चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने विदेशीले आफू संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र हवाई कार्यालय र अध्यागमन नाकामा बुझाउनुपर्नेछ।
यी मुलुकलाई ‘ट्रान्जिट’ बनाई नेपाल प्रवेश गर्न खोज्ने विदेशीका हकमा पनि यो नियम लागू हुनेछ। रिपोर्टमा कोरोनाबाट प्रभावित नभएको व्यहोरा उल्लेख हुनुपर्नेछ। हवाई तथा स्थल मार्गबाट नेपाल प्रवेश गर्नेले अध्यागमन नाकामा कोरोना भाइरसबाट संक्रमित नभएको व्यहोराको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्नेछ। यो नियम मंगलबारदेखि लागू हुनेछ।
गृह मन्त्रालयले नेपालस्थित विदेशी कूटनीतिक नियोगलाई पत्राचार गरी यसबारे जानकारी गराएको छ। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले कोरोनाबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र नबुझाउने विदेशीलाई नेपाल प्रवेशमा रोक लगाइने बताए। अन्नपूर्ण पोस्ट्बाट