काठमाडौं, २७ फागुन । शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका निभाए । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको सफल मृगौला प्रत्यारोपणपछि निगरानीमा राखेर उपचार गरिरहेका छन् । डा. खड्कासँग ऋषि धमलाले गरेको कुराकानीः
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ ?
उहाँको स्वास्थ्य अवस्था क्रमिक रुपमा राम्रो हुँदै आएको छ । आफै हिडडुल गर्न थाल्नुभएको छ । नर्मल खानाहरु खाने गर्नुभएको छ । समग्रमा सबै ठीक छ ।
सबै नर्मल छ भने कहिले डिस्चार्ज हुनुहुन्छ ?
चिकित्सकलाई उहाँ घर गएपछि पनि केही हुँदैन भन्ने भएपछि हामी डिस्चार्ज गर्दछौं ।
त्यसोभए भोलि, पर्सी, निपर्सी कहिले डिस्चार्ज हुन्छ त ?
तीन-चार दिनमा हुनसक्छ ।
मंगलबारसम्ममा डिस्चार्ज हुन्छ ?
चिकित्सकहरुले हेर्दै हुनुहुन्छ । हेरौं कहिलेसम्म हुन्छ ।
तर, पनि तपाईंहरुको एउटा मोटामोटी अनुमान त होला नि ?
हामीले ७ देखि १० दिनसम्म भनेका छौं । आज भर्खरै छैटौं दिन भएको छ । अनुमानको भरमा ठ्याक्कै यही दिन भनेर भन्न मिल्दैन । जब अब केही हुँदैन भन्नेमा हाम्रो कन्फिडेन्ट हुन्छ तब पठाउने हो ।
उहाँलाई बस्ने व्यवस्था कस्तो त ?
उहाँ बस्ने आइसीयुमा हो । त्यहीभित्र बस्नुहुन्छ, उठ्नुहुृन्छ, सुत्नुहुन्छ त्यही हो ।
खानपिना ठोस खान थाल्नुभयो ?
नर्मल खाना उहाँ आपैm खानुहुन्छ ।
शीर्ष नेताहरुले पनि प्रधानमन्त्रीलाई भेट्न पाएका छैनन् ?
अहिलेसम्म त भेट्न पाएका छैनन् । हाम्रा चिकित्सक र नर्सहरुबाहेक कसैले भेट्न पाएका छैनन् ।
अहिले भेट्न मिल्दैन ?
यतिबेला भेटघाटलाई बढाउँदा विभिन्न इन्फेक्सन हुन सक्छ । त्यसकारण उहाँलाई सबै व्यक्तिबाट टाढा राखेका हौं ।
उहाँ डिस्चार्ज भएर बालुवाटार नगएसम्म कसैले भेट्न पाउँदैनन् हो ?
अब उहाँलाई आईसीयुबाटै डिस्चार्ज गर्छौं कि सारेर गर्दछौं । त्यो पछि छलफल गरेर मात्र बताइन्छ । वार्डमा जानुभएमा भेट्न दिन्छौं । आईसीयुबाटै फर्किनुभयो भने कसैलाई भेट्न दिँदैनौं ।
साधरण वार्डमा सर्नुभयो भने भेट्न सक्नुहुन्छ ?
यदि वार्डमा सिफ्ट गरियो भने त्यहाँ चाहीं भेट्न सकिन्छ ।
तपाईंसँग गफ गर्दा देश र राजनीतिको बारेमा के भन्नुहुन्छ ?
हामीसँग कुरा गर्दा राजनीति र देशको बारेमा भन्दा पनि उहाँको दुखाई, अवस्थाको बारेमा मात्रै कुरा हुन्छ ।
उहाँलाई मृगौला दान गर्ने समीक्षा संग्रौलाको अवस्था कस्तो छ ?
उहाँ त एकदमै सामान्य भइसक्नुभयो । उहाँका एकदमै नजिकका आफन्तहरुले भेटघाट गरिसक्नुभएको छ ।
समीक्षाको डिस्चार्ज कहिले हुन्छ ?
उहाँलाई अब एक÷दुई दिन हेरौं । त्यसपछि डिस्चार्ज हुन्छ ।
स्वास्थ्यलाभको कामना गर्न जनता अस्पतालमा ओइरिएका छन् ?
स्वास्थ्यलाभको कामनाका लागि जनता, नेता सबै ओइरिएका छन् । मेरो विचारमा सबै नेपाल जनता नै प्रधानमन्त्रीको उहाँको स्वास्थ्यलाभको लागिरहेको जस्तो लाग्छ ।