डा. दीपेश केसी: भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल आएर लैनचौरस्थित राजदूतावास प्रवेश गरेसँगै भावी योजनाहरु तत्काल तयार गरे । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेपछि उनले भेटघाटलाई तिव्र पारे । कुनै अलमल नगरी सत्तापक्ष र प्रतिपक्षका नेताहरुलाई भेटे । पूर्व प्रधानमन्त्रीहरुसँग निवासमै पुगेर भेटे । शुरुवातमै उनले आफ्नो कुटनीतिक क्षमता प्रस्तुत गरे ।
नरम तर कुटनीतिक क्षमताबाट द्धिपक्षीय हितको मामलामा सफलता दिलाएरै छाड्ने स्वभावका क्वात्राले भारतीय राजदूतका रुपमा फ्रान्समा काम गरेर क्षमता प्रदर्शन गरिसकेका छन् । उनी फ्रान्सको राजदूत हुँदा भारतको फ्रान्ससँग आर्थिक क्षेत्रमा महत्वपूर्ण सम्झौताहरु भएका थिए । दुई देशको सम्बन्ध पनि नयाँ उचाईमा पुग्यो । यही खुबीका कारण उनले नेपालमा महत्वपूर्ण जिम्मेवारी पाए । भारतको कूटनीतिक क्षेत्रमा नेपालको राजदूत बन्नु अवसर र चुनौती दुवै मानिन्छ । नेपालका लागि राजदूत भएकामध्ये कतिपय भारतको विदेश सचिव देखि प्रधानमन्त्रीका सल्लाहकार समेत भएका छन् । अवकाश पाएपछि पनि उनीहरुको महत्व रहने गर्छ । त्यसैले राजदूत क्वात्रा अवसरसँगै चुनौती पनि देखिन्छ ।
क्वात्रा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुचाएका कुटनीतिज्ञ हुन् । धेरैका लागि उनी मोदीले रुचाएरै पठाएका राजदूतका रुपमा देखिन्छन् । मोदी प्रधानमन्त्री भएपछि प्रधानमन्त्री कार्यालयमा बसेर काम गरेको अनुभव समेत छ उनीसँग । त्यसैले क्वात्रा खास जिम्मेवारी बोकेर नेपाल आएको मान्न सकिन्छ । ती जिम्मेवारी के के हुन् लैनचौरले चाल्ने कदमहरुबाट देखिदै जानेछ । उनको कार्यकालमा भारतले नेपालसँगको आर्थिक सम्बन्ध र गेम चेन्जर विकास आयोजनाहरुमा सार्थक परिणाम दिनसक्ने गरी काम हुने सम्भावना उत्तिकै बलियो छ ।
क्वात्रासँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नजिक रहेर काम गरेको अनुभवले पनि नेपाल मामलामा उनले विशेष जिम्मेवारी बहन गर्न सक्ने बुझ्न सकिन्छ । उनी मात्र कुटनीतिज्ञ होइनन् मोदीका विश्वासपात्र पनि हुन् । त्यसैले सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री भएको बेलामा प्रधानमन्त्री कार्यालयमा विशेष ड्युटीसहितको जिम्मेवारी दिइएको थियो । कुसल कार्यक्षमताका कारण विदेश मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा लगिएको थियो । उनको काम गर्ने शैलीबाट मोदी प्रभावित भएर निजी सचिव बनाउन खोजेका थिए । सिनियर अफिसर भएकाले क्वात्रालाई प्रधानमन्त्री कार्यालयमा विशेष जिम्मेवारी दिएर अर्का युवा अधिकृतलाई निजी सचिव बनाएका थिए । यसकारण पनि क्वात्रा निकै शक्तिशाली कुटनीतिज्ञ हुन् भन्ने प्रमाणित हुन्छ ।
क्वात्रासँग अमेरिका, युरोप, चीनमा मात्र नभई नेपालमा बसेर पनि काम गरेको अनुभव छ । त्यसकारण उनी नेपालबारे जानकार छन् । क्वात्रासँग भारतको स्थायी प्रतिनिधिका रुपमा संयुक्तराष्ट्रसंघको जेनेभास्थित कार्यालयमा काम गरेको अनुभव छ । आइएलओ र डब्लुएचओ जस्ता संयुक्तराष्ट्रसंघीय संस्थामा भारतको प्रतिनिधिका रुपमा जिम्मेवारी सम्हालेका थिए । चीनस्थित भारतीय राजदूतावासमा उनी काउन्सलर हुँदै डिसिएम सम्म भएका थिए । सबैजसो महादेशमा बसेर काम गरेको अनुभव छ उनीसँग ।
क्वात्राले सन् २००६ देखि २०१० सम्म काठमाडौंस्थित सार्क सचिवालयमा बसेर जिम्मेवारी सम्हालेका थिए । त्यतिबेला उनी व्यापार ब्युरोको प्रमुख भएर काम गरे । यसकारण उनी आर्थिक मामलाबारे पनि गहिरो जानकार छन् । नेपालसँग भारतको आर्थिक सम्बन्धलाई अझ विस्तार गरी दुई देशको हितमा काम गर्नसक्ने क्षमता राख्छन् । त्यो कुशलता उनले कसरी निभाउँछन् हेर्न बाँकी छ । त्यसबाहेक नेपालसँग भारतको सम्बन्धमा बेला बेलामा समस्या आइरहन्छ । नेपालीहरु भारतीय पक्षबाट मसिना विषयमा तलमाथि भएपनि आक्रोश पोखिहाल्छन् । तर, यो पनि जान्दछन् कि भारत नेपालको सबैभन्दा नजिकको मित्रशक्ति हो र दुई देशबीचको सम्बन्ध नङ र मासुको जस्तै छ । एकले अर्कोलाई आफ्नो सम्झेकाले पनि स साना विषयमा पनि असन्तुष्टि पोखिहाल्ने परम्परा बसिसकेको छ । परममित्र दुई छिमेकीको राजनीतिक तहमा बेला बेलामा आउने उतारचढाव सामान्य हुन् । जनता जनता तहको सम्बन्धको अनिवार्यता र घनिष्ठताले उतारचढावलाई सही मार्गमा रहन वाध्य पारिहाल्छ । यो यथार्थलाई राजदूत क्वात्राले बुझेकै होलान् ।
नेपाल मामलामा क्वात्रा
नेपालबारे राम्रो जानकार क्वात्राले द्धिपक्षीय सम्बन्धलाई सुदृढ बनाउने सन्देश दिने गरी भेटघाटलाई तिव्र पारे । उनले यी भेटहरुबाट सकारात्मक सन्देश प्रवाह गरिसकेका छन् । कुटनीतिक तहमा मात्र नभई राजनीतिक तहमा समेत समन्वय गरेर अगाडि बढ्दैछन् । राजनीतिक तहबाट समाधान गर्नुपर्ने कतिपय विषयमा पनि उनले भूमिका खेल्न सक्छन् । विशेषगरी सीमा समस्या, सन् १९५० सालको सन्धीको पुनरावलोकन र पञ्चेश्वर परियोजनाको डिपिआरको विषय उनको कार्यकालमा टुंगो लाग्ने वातावरण बन्नसक्छ । यी सबै विषय राजनीतिक तहबाट समाधान गरिनुपर्ने विषय हुन् भनिदै आइएको छ । सीमा समस्यामध्ये दुई प्रतिशतमा मात्र बाँकी छ । १९५० को सन्धी दुवै देशको हितमा हुनेगरी आवश्यक पुनरावलोकनका लागि इपिजिले प्रतिवेदन तयार गरिसकेको अवस्था छ । पञ्चेश्वरको डिपिआर बनेर काम अगाडि बढे दुवै देशको हित हुनसक्छ । यसमा राजनीतिक इच्छाशक्ति आवश्यक पर्छ । कुशल कुटनीतिज्ञको परिचय बनाएका क्वात्राले यसमा विशेष भूमिका निभाउन सक्छन् ।
अरुण तेस्रो परियोजना जसरी अगाडि बढ्यो त्यसले दुवै देशले चाहेमा आपसी हितका विषयमा असम्भव केही छैन भन्ने प्रमाणित गरेको छ । ९०० मेगावाटको अरुण तेस्रो निर्माण कार्यले दुई देशको आर्थिक विकासमा मात्र नभई सदीऔं देखिएको सम्बन्धमा अझ ऊर्जा थपिसकेको छ । माथिल्लो कर्णालीमा लगानीको विषय टुंगो लागिसकेको छैन । निर्माणको व्यग्र प्रतिक्षामा रहेको यो परियोजना अगाडि बढ्ने अपेक्षा गरिएको छ । दुई देशबीच यातायातको क्षेत्रबाट कनेक्टिभिटी बढ्दो छ । नेपाल र भारतबीच रेल सञ्जाल विस्तार र नयाँ निर्माणबाट कनेक्टिभिटी बढाउने महत्वाकांक्षी योजनाहरु अगाडि बढाइएका छन् । त्यसलाई सार्थक बनाउने चुनौती उत्तिकै छ ।
एकीकृत चेकपोष्टहरु धमाधम निर्माण हुँदै शुरु भइसकेका छन् । ग्याँस पाइपलाइन निर्माण पूरा भई सञ्चालनमा आएको छ । वीरगञ्ज र विराटनगर गरी दुई स्थानमा संयुक्त चेकपोष्ट निर्माण पूरा भई व्यापारमा सहजता आएको छ । नेपालले भारतको नयाँ बन्दरगाह प्रयोग गर्न पाएबाट ढुवानी सहज र सस्तो बनेको छ । अझैपनि व्यापारमा केही समस्याहरु नभएका होइनन् । तिनको हल गरेर दुवै देशले लाभ लिनसक्ने वातावरण तयार गर्न सकिन्छ ।
नेपालमा विकास र समृद्धि हासिल होस् भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तरमन देखिको चाहनामा कुनै शंका गर्ने ठाउँ छन् । उनको पटक पटकको नेपाल भ्रमणबाट यो छर्लङ्ग हुन्छ । उनले दक्षिण एशियामा सबैभन्दा बढी पटक नेपाल भ्रमण गरेका छन् । नेपाललाई उनले पवित्र धार्मिक तीर्थस्थल मानेका छन् । यसकारण पनि उनको नेपाल मामलामा बढी चासो छ । मोदी प्रधानमन्त्री भएपछि थाती रहेका कतिपय विकास आयोजनाहरुले गति लिएका छन् । उनको धार्मिक तीर्थयात्राले नेपालमा धार्मिक पर्यटनले फड्को मारेको छ । तथापि, अझैपनि उत्पादनका क्षेत्रमा अपेक्षाकृत भारतीय लगानी भित्रन सकेको छैन । यसमा नेपालले पनि भारतीय लगानीकर्तालाई विश्वास दिलाउन सकेको छैन । केही विश्वासको संकट पक्कै छ । त्यसलाई हटाउन राजदूत क्वात्राको कार्यकालमा महत्वपूर्ण उपलब्धि हासिल हुनसक्ने विश्वास गर्न सकिन्छ ।
भारतका लगानीकर्तासँग लगानीको क्षमता मात्र छैन ब्रेन पनि छ । भारत विश्वकै उत्कृष्ट ब्रेन उत्पादन गर्ने देशमा पर्छ । त्यसको सदुपयोग नेपालमा हुनसक्छ । नेपालसँग अपार प्राकृतिक स्रोत छ । भारतसँग साधन र प्रविधि छ । दुवैको सामञ्जस्यता भयो भने यो क्षेत्रकै कायापलट हुन्छ । नेपालको जलविद्युत स्रोतको उचित सदुपयोगले नेपाल मात्र नभई भारतको कतिपय भाग नै झिलीमिली हुनसक्छ । कतिपय जलविद्युत आयोजनाहरु अगाडि बढाउन सकिने अवस्था छ । यसमा आर्थिक कुटनीतिक कुशलता आवश्यक पर्दछ । क्वात्राले यसतर्फ कुटनीतिक कुशलता देखाउन सक्छन् ।
सुरक्षाका विषय जहिले पनि महत्वपूर्ण र प्राथमिक हुन्छन् । नेपाल मामलामा भारतको सुरक्षा चासो रहेको स्पष्ट छ । नेपालको भूमि भारतविरुद्ध प्रयोग नहोस् भन्ने भारतको चाहना छ । नेपाली पक्षले कुनै हालतमा त्यस्तो हुन नदिने प्रतिवद्धता मात्र नभई व्यवहारमा समेत देखाएकै छ । उदयीमान भारतमाथि आतंकवादको खतरा उत्तिकै छ । सहज आवत्जावत् गर्न सकिने सीमा भएकाले दुवै देशबीचको समन्वय अनिवार्य छ । यो एक अर्काको हितमा छ । हालै भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले अहिले आएर वास्तविक मित्र चिनेको बताएका छन् । काश्मिर मामलामा भारत सरकारले चालेको कदमपछि उसले छिमेक देखि मित्रको पनि साथ खोजेको थियो । विगतमा जसरी नेपाली पक्षले भारतलाई साथ दिएको थियो त्यो पक्कै पनि नभएको सन्देश गयो । यसमा भारतीय पक्षबाट पनि कमी कमजोरी रह्यो । खासगरी नाकाबन्दीका क्रममा दुई देशबीचको सम्बन्धमा केही समस्या आउँदाको असर पछिसम्म रह्यो । इतिहासको कालखण्डमा यस्तो अवस्था आउन नदिने गरी आधार तयार गर्न कुटनीतिक र राजनीतिक दुवै क्षेत्रबाट विश्वासको गहिरो जग बसाल्नुपर्ने हुन्छ । क्वात्रा कार्यकालमा नेपाल र भारतबीच विश्वासको गहिरो जग बस्ने अपेक्षा गर्न सकिन्छ । त्यसले जस्तोसुकै अप्ठ्यारोमा पनि कसिलो र सम्बन्धमा कहीं कतैबाट हलचल हुन सक्दैन ।