काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । उनको मिर्गौलाको प्रत्यारोपण गरिएको आज सातौँ दिन त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख र सन्तोषजनक रहेको बताउँदै उनलाई केही दिनपछि निवास फर्काइने जानकारी दिए ।
अस्पतालमा मिर्गौला प्रत्यारोपणमा संलग्न प्रमुख चिकित्सक टोलीसहितको पत्रकार सम्मेलनमा प्रा डा खड्गाले चिकित्सीय हिसाबले उनी आजै घर फर्कन सक्ने भएपनि परिवारको आग्रहअनुसार केही दिन अस्पतालमै राखिने बताए । अङ्गदाता समीक्षा सङ्ग्रौलाको स्वास्थस्थिति राम्रो भएको र खड्गालाई पनि प्रधानमन्त्रीसँगै घर फिर्ता गराइने जनाइएको छ ।
त्रिवि चिकित्साशास्त्र सङ्कायका डीन प्रा डा जगदीश अग्रवालले मुलुकका प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण मुलुककै अस्पतालमा हुनु गौरवको विषय भएको बताउँदै यसबाट चिकित्सकहरुको आत्मविश्वास बढेको बताए।
उनले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा अङ्ग प्रत्यारोपण गर्नेको सङ्ख्या बढ्न सक्ने हुनाले सरकारले यसको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम