फागुन २७, काठमाण्डौ । शक्ति र पैसाकै भरमा लामो समयदेखि कानुनी छिद्रताको फाईदा उठाउदै क्यासिनो सञ्चालकले सरकारलाई बुझाउनु पर्ने रोयल्टी कर बुझाएका छैनन् । सरकारलाई बुझाउनु पर्ने कर र रोयल्टी बक्यौता चुक्ता गर्न पटकपटक निर्देशन दिएपनि क्यासिनो सञ्चालकहरुले बक्यौता रकम चुक्ता नगरेपछि अब सो बक्यौता कर सम्बन्धित होटलबाटै असुलउपर गर्ने भएको छ ।
नेपालका ६ वटा क्यासिनोले पुरानो बक्यौता लामो समयदेखि बुझाएको छैन । लामो समयदेखि सरकारलाई कर र बक्यौता रकम नबुझाएपछि महालेखा नियन्त्रक कार्यालय कुमारीचोक तथा केन्द्रिय तहसिल कार्यालयले समेत सूची सार्वजनिक गरेको छ । सरकारले बक्यौता उठाउन नसकेको क्यासिनो रहेका होेटल र त्यसका जिम्मेवार व्यक्तिको नाम समेत सार्वजनिक गर्दै ३५ दिन भित्र सरकारी बक्यौता तिर्न समेत निर्देशन दिएको छ ।
तोकिएको अवधिभित्र समेत बक्यौता तिर्न नगए सम्बन्धित होटलकै जायजेथाबाट लिलामी गरिने समेत कार्यालयले जनाएको छ । होटेल र क्यासिनोतर्फ सरकारले १ अर्ब ५७ करोड रुपैयाँ वक्यौता उठाउन बाँकी रहेको छ । राजस्व रकम नबुझाउने विभिन्न पाँचतारे होटल, रिसोर्ट र निर्माणसँग सम्बन्धित १ सय २३ कम्पनी तथा व्यक्तिहरु अहिले सरकारको निगरानीमा परेका छन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार १ सय २३ वटा कम्पनी÷फार्म तथा व्यक्तिको नामावलीसहित तीनपुस्ते विवरण सार्वजनिक गर्दै ३५ दिने अल्टिमेटम दिदै कारबाहीकालागि सम्बन्धित निकायमा सिफारीस गरेको छ । काठमाडौंको ताहाचलस्थित सोल्टी होटल, अन्नपूर्ण होटल, हायत रिजेन्सी र एभरेस्ट होटलमा क्यासिनो सञ्चालन गरेको नेपाल रिक्रिएसन सेन्टरले अहिलेसम्म सरकारलाई ७३ करोड ६० लाख १ हजार ४ सय ६५ रुपैयाँ बक्यौता तथा त्यसको ब्याजसमेत तिर्न बाँकी रहेको छ । सो क्यासिनोको तत्कालीन सञ्चालक राकेश बाधवा अहिले सम्पर्कविहीन छन् ।
पियुषबहादुर अमात्य सञ्चालक रहेको पोखरास्थित फूलबारी रिसोर्ट प्रालिले सरकारलाई ३४ करोड रुपैयाँ तिर्नुपर्ने रहेकोे छ । पूmलबारीले ३३ करोड ९३ लाख १५ हजार ७१६ रुपैयाँ बक्यौता र त्यसको ब्याज तिर्न बाँकी छ । राधेश्याम सर्राफ सञ्चालक रहेको काठमाडौंको याक एन्ड यति होटलले १६ करोड ३३ लाख रुपैयाँ बक्यौता तिरेको छैन । महालेखाले याक एन्ड यति होटललाई ३५ दिनभित्र १६ करोड ३३ लाख ५४ हजार ४ सय ५२ रुपैयाँ र त्यसमा लाग्ने ब्याजसमेत तिर्न ताकेता गरेको लामो समय वितिसक्दा समेत सो बारे अहिले सम्म कुनै चासो होटले दिएको छैन । तप्तबहादुर विष्ट सञ्चालक रहेको होटल अन्नपूर्णले अहिलेसम्म १६ करोड ८ लाख रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेको छ ।
दिनेशबहादुर विष्ट अध्यक्ष रहेको सोल्टी होटलले ८ करोड ४३ लाख ७१ हजार १ सय ४० रुपैयाँ राजस्व बुझाउन बाँकी रहेको छ । यसैगरी, मिनी क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहले पनि ७ करोड ५३ लाख ६८ हजार ४८ रुपैयाँ तिर्न बाँकी छ । शक्ति र पैसाको आँडमा रहेका व्यवसायीहरु अहिले कतिपय क्यासिनो तथा त्यसका सञ्चालक सार्वजनिक सूचना जारी भएपछि भागेका छन् । सम्र्पकमा सञ्चालक नआएपछि सरकारले त्यसको दायित्व होटलले बेहोर्नुपर्ने भन्दै होटलको नाममा सूचना प्रकाशन गरेसंगै अहिले होटल सञ्चालकहरु शक्तिकेन्द्र धाउन समेत थालेका छन ।
आर्थिक ऐन २०७६ अनुसार नेपालमा क्यासिनो संचालन गर्न इजाजत पाएका व्यक्ति वा संस्थाले क्यासिनो संचालन गरेवापत सरकारलाई वार्षिक ४ करोड रुपैयाँ रोयल्टी बुझाउनु पर्ने व्यवस्था गरिएको छ । आधुनिक मेसिन वा उपकरणका माध्यमबाट मात्र खेलाइने खेलका लागि वार्षिक १ करोड रुपैयाँ रोयल्टी बुझाउनु पर्ने व्यवस्था गरेपनि अधिकाशं क्यासिनोहरुले हाल सम्म सो रकम समेत बुझाएका छैनन् । आर्थिक ऐन अनुसार तोकिएको समय भित्र रोयल्टी नबुझाउने क्यासिनोलाई अवधि नाघेको तीन महिनासम्म रोयल्टीको १५ प्रतिशत थप र सो अवधिभित्र पनि रोयल्टी नबुझाए ३० प्रतिशतका दरले वार्षिक शुल्क जोडिने प्रावधान अनुसार अर्बौ रुपैयाँ कर तथा रोयल्टी सरकारले असुली गर्न बाँकी रहेको छ ।