Logo

वार्ताभन्दा पक्राउमा ध्यान



काठमाडौं, २८ फागुन । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको एक वर्ष बिते पनि वार्तामा ल्याउन सकेको छैन। विप्लव नेकपाले गत वर्षको फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा आक्रमण गरेपछि २८ गते सरकारले उसलाई प्रतिबन्ध लगाएको घोषणा गरेको थियो।

त्यसपछि सरकारले विप्लवसँग वार्ताको सट्टा उनका नेता–कार्यकर्ता पक्राउ गरी जेलमा कोच्ने नीति लियो। सरकारले विप्लव समूहको गतिविधि आतंककारी भएको भन्दै उसलाई प्रतिबन्ध लगाएको हो। पार्टीमाथि नभई उसका गतिविधिमा प्रतिबन्ध लगाएको जनाउँदै सरकारका तत्कालीन प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले शान्तिपूर्ण कार्यक्रममा भने रोक नलगाउने बताएका थिए। तर प्रहरीले विप्लवका गतिविधिलाई पूर्णतः निषेध गर्दै आएको छ। सरकारले नेता–कार्यकर्तालाई पक्राउ गरेर शक्ति क्षीण बनाउने नीति लिएपछि विप्लव समूह भने रक्षात्मक अवस्थामा देखियो। ‘केन्द्रीय नेता, विद्यार्थी नेता र कार्यकर्ता पक्राउ पर्न थालेपछि विप्लव समूह रक्षात्मक बनेको अवस्था छ’, सुरक्षा स्रोतले भन्यो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनाको जासुसी ब्युरोले समेत विप्लव समूहको गतिविधिलाई निगरानी गरिरहेको छ। ‘कतिपय अवस्थामा चारवटै सुरक्षा संगठनमा आएका सूचनाको आधारमा संयुक्त कारबाही हुने गरेको छ’, सुरक्षा स्रोतले भन्यो, ‘प्रहरीले पक्राउ गर्ने डरले उनीहरुले आफ्ना गतिविधिमा कमी ल्याएका छन्। यो राजनीतिक समस्या भएकाले सुरक्षा निकायबाट भन्दा पनि गृह मन्त्रालयकै तहबाट यसलाई सुल्झाउने प्रयास भए राम्रो हुन्थ्यो।’ (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्