Logo

प्रम केही दिन अस्पतालमै



काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको भए पनि परिवारको आग्रहमा केही दिन अस्पतालमै राखिने भएको छ । प्रधानमन्त्री ओलीको फागुन २१ गते बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकसहित शिक्षण अस्पतालमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्स प्रा.डा. दिव्या सिंह शाहले भने, “अपेक्षाकृत सुधारको लक्षण देखिएको भए पनि जबसम्म चिकित्सकले कम्फर्टेवल फिल गर्दैन त्यो बेलासम्म डिस्चार्ज गर्न सकिन्न ।” शिक्षण अस्पताल प्रत्यारोपण चिकित्सातर्फ विभागीय प्रमुख प्रा.डा. शाहले भने, “हुन त उहाँलाई डिस्चार्ज गर्दा पनि हुन्छ । निवासमा पनि सङ्क्रमण प्रतिरोधी संरचनाको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।” उनले पहिलो एक महिना बढी सावधानी अपनाउनु पर्ने भएकाले प्रधानमन्त्री निवासमा त्यसको तयारी पूरा भएपछि छिट्टै प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने बताएका छन् । उनले थपे, “प्रधानमन्त्रीको परिवारबाट पनि एक दुई दिन अस्पतालमा नै राखिएमा यहाँ तयारी गर्नु सकिन्थ्यो भन्ने कुरा आयो । प्रधानमन्त्री पनि डिस्चार्ज भएर जान चाहन्छन् । निवासमा तयारी पूरा भइसकेपछि उहाँलाई पठाउँछौ ।” उनले दोस्रो प्रत्यारोपणमा औषधिको डोज बढि दिइने भएकाले सङ्क्रमणको सम्भावना समेत बढी रहने बताएका छन् । उनले भने, “सम्भावित सङ्क्रमणबारे उहाँहरु (प्रधानमन्त्री तथा परिवार) सचेत हुनुहुन्छ ।

उहाँलाई भीडभाडमा जान सल्लाह दिदैनौ ।” उनले दैनिक कार्य सचिवालयबाट प्रधानमन्त्रीले गर्न सक्नुहुने तर रुघाखोकी र अरु सङक्रमण भएकाबाट जोगिनुपर्ने बताएका छन् । “अलिकति दुरीमा रहेर काम गर्न सकनुहुन्छ । छ महिनापछि साधारण मानिस जसरी सक्रिय दैनिकी बनाउन सक्नुहुन्छ ।” उनले मिर्गौला प्रत्यारोपणको लागि उमेर नभई शरिरको स्वास्थ्य अवस्था कस्तो छ भन्ने विषय महत्वपूर्ण चर्चा गर्दै भने, “प्रधानमन्त्रीको मुटुलगायत अंग सबै राम्रो छ । त्यो भएर यो मिर्गौलाले राम्रो काम गर्छ । त्यति समस्या आउने देख्दैनौ ।” उनले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आकस्मिक नभई पूर्वतयारीसाथ भएको स्पष्ट पारेका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्