काठमाडौं, फागुन २९ । नोवल कोरोना भाइरसको सम्भावित संक्रमणबारे चौबीसै घन्टा सूचना उपलब्ध गराउन सरकारले शुक्रबारदेखि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ। ‘यो सेन्टर बिहीबारसम्म स्थापना भइसक्नेछ,’ सरुवा तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले भने, ‘शुक्रबारदेखि सञ्चालनमा आउनेछ।’
स्वास्थ तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार जारी प्रतिवेदनअनुसार हालसम्म नेपालमा चार सय ४७ जनाले कोरोनाको परीक्षण गराइसकेका छन्। तीमध्ये चार सय ४६ जनामा यो रोगको संक्रमण नरहेको देखिएको छ। एकजनामा यसको संक्रमण देखिए पनि उनी निको भइसकेको प्रतिवेदनमा जनाइएको छ।
परीक्षण गरिएका कुल चार सय ४७ जनामध्ये चीनको वुहानबाट उद्धार गरेर ल्याइएका एक सय ८५ जनालाई पनि समावेश गरिएको छ।नागरिक दैनिकबाट