Logo

खाद्यान्न अभाव छैन तर त्यतिकै अफवाह फैल्याइँदै छ



काठमाडौंँ ३० फागुन । बिहीबार बिहान १०ः३० बजे साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड पुग्दा विगतभन्दा उपभोक्ताको भीडभाड र चहलपहल निकै कम थियो । यद्यपि किनमेल गर्नेको चहलपहल सुरु भइसकेको थियो । कार्यालय समयमा खुल्ने ग्यास तथा खाद्यान्न बिक्री केन्द्रबाट सामान खरिद गर्न केही उपभोक्ता त्यसअघि नै परिसरमा आइपुगेका थिए ।

विश्वभर कोरोना भाइरसको त्रास फैलिएपछि चिन्तित हुँदै उपभोक्ता साल्ट ट्रेडिङ पुग्न थालेका छन् । त्यहाँका कर्मचारी विगतभन्दा यो धेरै कम भीड हो । होलीभन्दा अगाडि त थेगी नसक्ने भीड थियो, बाहिरसम्म लाइन हुन्थ्यो भन्छन् । त्यहाँ कसैले ग्यास, नुन त कसैले चिनी, कसैले अन्य खाद्यवस्तु खरिद गरिरहेका थिए । रोचक पक्ष त के हो भने अघिपछि एक पोका नुन किन्ने उपभोक्ता दुईदेखि चार पोका अनि पाँच केजीसम्म चिनी खरिद गरिरहेका थिए । केहीले त एक बोरा चिनी र नुन किनेको समेत भेटियो ।

साल्ट ट्रेडिङ कर्पोरेसनभन्दा पाँच सय मिटर मात्र दूरीमा बस्ने उपभोक्ता प्रवासबहादुर सिंहले घरकै छेउमा ग्यासको डिपो भए पनि डिपोवालाले ग्यास सकियो भनेपछि यहाँ लिन आएको बताएका छन् । उनले डिपोहरू जानीजानी हाहाकार देखाइरहेका छन् । साँच्चिकै अभाव भए वा हाहाकार थियो भने यहाँ आउँदा यति सजिलो तरिकाले लिन किन पाइन्थ्यो भन्नुभयो । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्