काठमाडौं, ३० फागुन । साहित्यकार राजेन्द्र तारकिणीका धेरैवटा कृति प्रकाशित छन् । लेखनमा सक्रिय रहँदै आएका उनीसँग जयराम सापकोटाले गरेको कुराकानी
कहिलेदेखि साहित्य लेखन थाल्नुभयो ?
– लेख्न त मैले विद्यालयकालीन जीवनबाटै सुरु गरेको हुँ । कक्षा सातमा पढ्दा हो शायद, पहिलोपटक ‘मेरी आमा’ शीर्षकमा कविता लेखेको थिएँ । औपचारिक रूपले लेख्न थालेको चाहिँ वि.सं. २०६३ देखि हो । त्यो वर्ष मेरो जीवनको ‘टर्निङ पोइन्ट’ नै रह्यो, धेरै अर्थमा । पछि वि.सं. २०६६ मा पहिलोपटक काठमाडौं आएपछि चाहिँ मेरो लेखन र प्रकाशनले गति लिएको हो ।
कसबाट र कसरी प्रभावित हुनुभयो ?
– बुबाले घरमा महाभारत राख्नुभएको थियो र बेला÷बेला श्लोक लामो लयमा गाएर सबैलाई मुग्ध पार्नुहुन्थ्यो । उहाँ बाँसुरी बजाउनमा पनि गाउँकै अब्बल हुनुहुन्थ्यो । साथै देउडा गीत रच्न र देउडा नाचमा दोहोरी लाग्न पनि उहाँ गाउँ–छिमेकमा प्रख्यात हुनुहुन्थ्यो । आमा पनि उखान–टुक्का र लोककथा जान्नुहुन्थ्यो । कुरैपिच्छे कसैलाई छेड गर्नु छ भने या गहकिलो ढंगले भन्नु छ भने उहाँ उखान÷टुक्कामार्फत भन्नुहुन्थ्यो । यही छाप मेरो बालमनमा परिरहन्थ्यो ।
– तर मैले साहित्य नै लेख्नुका बढी सबल प्रेरक तत्व भने मेरै समाजका विसंगति हुन् । कोही निर्धो, निर्धन भएकै कारण सहनुपर्ने सामाजिक थिचोमिचो, विभेद, असमानता र हेलाका काँडाबीच म हुर्किएँ– जसले मनमा चस्स÷चस्स घोचिरहन्थे । यिनै कुराले प्रथमतः मलाई कविता लेख्न बाध्य पारे । म सोझै समाजका अघि मुकाबिला गर्न नसके पनि लेखेर देखाउन सक्थेँ ।
– अर्कोतिर अग्रज स्रष्टाका सिर्जना र सफल व्यक्तिका जीवनकथाले पनि मलाई साहित्यमा लाग्न उत्प्रेरणा दिइरहे ।
कसरी बढिरहेको छ त लेखन गतिविधि ? आफ्नो लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
– म मेरो लेखनप्रति पूर्णतः सन्तुष्ट हुन सकेको छ्रैन । लेखनकला पनि निरन्तर परिमार्जन गर्दै जानुपर्ने रहेछ । सुरुआतका मेरा रचना अनेकतिरबाट प्रभावित एवं स्पष्ट रूपमा सिकारु थिए । पछिल्लो समय म एकदमै कम लेख्न थालेको छु । र, ती रचना (विशेषगरी कविता) पहिलेको तुलनामा निकै परिमार्जित छन् । तर पनि मैले अझै गहन रचना दिन सक्नुपर्छ भन्ने लाग्छ– जसका कारण लेखनमा सन्तुष्टि मानेर बसिरहन नसकिने रहेछ । निरन्तर अध्ययन तथा परिमार्जनमार्फत नयाँ रचना दिन सकिन्छ भन्ने लाग्छ ।
अन्य नयाँ कृतिको तयारीमा पनि हुनुहुन्छ कि ?
– पछिल्लो समय लेखिएका र विभिन्न माध्यमबाट फुटकर रूपमा पाठक तथा स्रोतामाझ पुगेका कविताका साथै नितान्त भर्जिन कविताको संग्रह निकाल्नेबारे योजना बनाउँदै छु ।
तपाईंको साहित्यिक आदर्श के हो ?
– साहित्य समाजका लागि हुनुपर्छ भन्ने मेरो मान्यता हो । साहित्य, कविता बुद्धिविलासको साधन वा आत्मरति होइन । युगीन चेतना र समसामयिक सामाजिक मुद्दा, विकृति÷विसंगतिविरुद्धका स्वर स्रष्टाको कलममार्फत लेखिनुपर्छ । स्रष्टा सत्ताको विपक्षमा उभिएको हुन्छ, यसो भन्दैमा राज्यका असल कार्यको समेत सधैँ विपक्षमा हुन्छ भन्ने होइन तर शासकवर्गको प्रभुत्व जहिले पनि जनतामाथि हाबी भइरहन्छ । जब जनहितविपरीतका गलत कार्य र अव्यवस्थाले हद नाघ्छ– तब स्रष्टा चुप लागेर बस्न सुहाउँदैन ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ? नेपाली लेखकले आफ्नो दायित्व वहन गरिरहेका छन् त ?
– अहिले साहित्यमा एक खालको स्पष्ट विभाजनको रेखा कोरिँदै छ जस्तो लाग्छ । पुरानो पुस्ताको लेखन सुस्ताएको हो कि जस्तो लाग्छ भने नयाँ पुस्ता नयाँ जोश–जाँगर, शैली–शिल्प र विषय लिएर आइरहेछ ।
– हिजोको साहित्यभन्दा आजको साहित्य कम छैन । समाज, राजनीति, संघर्ष, पहिचान, समयचेतना र स्वैरकल्पना मिश्रित यथार्थवादी साहित्यक कृति एकपछि अर्को आइरहेका छन् । तर नयाँ पुस्तामा एकखालको अधैर्य छ, रातारात किताब निकालेर जसरी हुन्छ चर्चामा आउने प्रवृत्ति बढ्दो छ– जसले गर्दा राम्रो विषयको उठान भइकन पनि परिमार्जन र परिपक्वताको अभाव, तथ्यगत अध्ययनको कमीजस्ता कमजोरी सिर्जनामा देखिन थालेको छ । अर्कोतिर गुटबन्दी र प्रपोगन्डिष्ट प्रवृत्ति हाबी हुँदा साहित्यको वस्तुवादी गुणस्तरीयता र टिकाउपनमाथि प्रश्नचिह्न खडा भएको छ । प्रचारमुखी तथा व्यापारमुखी साहित्य हाबी हुँदै जाने हो भने जिम्मेवार साहित्यिक प्रयास ओझेलमा पर्ने खतरा रहन्छ ।
तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
– विषयवस्तुका हिसाबले सर्जकहरू के र कस्तो लेख्ने भन्नेमा स्वतन्त्र हुन्छन् । तर शैली, शिल्प र प्रस्तुतिमा मौलिकपन र नयाँपन भयो भने त्यो वर्तमानमा ग्राह्य हुन्छ र त्यस्ता रचनाको भविष्य पनि सुन्दर देख्छु म । साथै साहित्यमा सामयिक स्वर र तत्कालीन समाजको चित्र आउनुपर्छ भन्ने मलाई लाग्छ ।
लेख्नलाई केले घच्घच्याउँछ ? कुन समय, कस्तो वातावरण चाहिन्छ ?
– म जबर्जस्त कुनै पनि रचना लेख्ने गर्दिनँ । कुनै प्रभावशाली कविता लेख्नका लागि त्यसको भ्रूण सर्वप्रथम मन–मस्तिष्कमा रोपिनुपर्छ । तत्कालीन घटनाको प्रत्यक्षदर्शी वा भुक्तभोगी भएको अवस्थामा र राज्य÷जिम्मेवार निकायका गलत प्रवृत्तिको शिकार आफू वा आफूवरपर कोही भइरहेको देख्दा मस्तिष्कमा एकखालको उकुसमुकुस हुन्छ । अन्ततः त्यसले सृजनात्मक आकार लिन पुग्छ । यसका अतिरिक्त कुनै भोगाइ र विचारका क्रममा उत्पन्न हुने जीवन दर्शन मेरा रचनाको रचनागर्भ हुने गर्छ ।
– लेख्ने निश्चित समय भने छैैन । कहिले बाटोमा हिँड्दा हिँड्दै पनि प्लट रचना हुन्छ, कहिले गाडीमा यात्रा गर्दा वा भीडभाडमै पनि केही सोच आउँछन्, तिनलाई टिपोट गर्ने गर्छु । बढीजसो एकान्त भएका बेला, प्रायः राति लेख्ने वा पुनर्लेखन गर्ने गर्छु ।
सफल स्रष्टाका आवश्यक गुण के हुन् ?
– इमानदारी, विनयशीलता तथा निरन्तर अध्ययन, साधना र अन्तक्र्रिया सफल हुनका लागि आवश्यक गुण हुन् जस्तो लाग्छ ।
साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
– आख्यान र त्यसमा पनि उपन्यास धेरैले पढ्छन् शायद । बजार, व्यापार र लेखनका हिसाबले अहिले आख्यान उर्बर विधाका रूपमा फस्टाउँदो छ । सामान्य पाठकले समेत आख्यानात्मक कृति बढी रुचाउने गरेको पाइन्छ । कविता, गजलजस्ता रचना पनि धेरैले पढ्ने गरेका छन् ।
सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
– स्वाभाविक रूपले स्रष्टामा कल्पनाशीलता हुनैपर्छ । कल्पनाविना सृजनामा सजीवता ल्याउन सकिँदैन । यी दुवै गुण सृजनामा हुनुपर्छ ।
सम्मान÷पुरस्कारको पछि दौडिने स्रर्जकप्रति के भन्नुहुन्छ ?
– सच्चा स्रष्टा त सम्मान÷पुरस्कारका पछि दौडिँदैन होला । आफ्नो सिर्जनात्मक धरातल भुलेर पुरस्कार÷सम्मान थाप्नकै लागि जे पनि गर्न तयार हुनेलाई म सच्चा स्रष्टा मान्न सक्दिनँ ।
– तर असल काम गर्नेलाई पुरस्कृत गरिनु पनि पर्छ । समाज, संस्था वा राज्यले स्रष्टा÷सृजनाको उचित मूल्यांकन गरी दिइने पुरस्कार स्वाभाविक मान्न सकिन्छ । तर हामीकहाँ साहित्य र पुरस्कारमा पनि एकप्रकारको दलाली फस्टाउन थालेको छ । यो असली साहित्यको बारीमा फैलिँदै गएको एकप्रकारको रोग नै हो– जसलाई निरुत्साहन गर्न सम्बन्धित सबै पक्ष गम्भीर हुनु आवश्यक छ ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
– साहित्य, विचार, कलालगायत बौद्धिक सृजनाले विभिन्न कालखण्डमा राज्य र समाजमा जागरण ल्याउन भूमिका खेलेको पाइन्छ । हामीकहाँ पनि यस्ता दृष्टान्त छन् । स्रष्टामा सामाजिक परिवर्तन ल्याउने सामथ्र्यमात्र नभई समाज÷राष्ट्रलाई एकजुट बनाउने कलात्मक क्षमता निहित हुन्छ । यी कुरालाई दृष्टिगत गरेरसमेत राज्यले उनीहरूको उचित कदर गर्नुपर्ने दायित्व रहन्छ ।
साहित्यकार नहुनुभएको भए के हुने सम्भावना थियो ?
– जुनबेला म जानेर वा नजानेर साहित्य क्षेत्रमा एकोहोरिएर लागेँ– त्यतिबेलासम्म मैले आफ्नो जीवनको लक्ष्य के हो भन्ने सोचेकै थिइनँ । म कवि वा साहित्यकार बन्छु भनेरै पनि यस क्षेत्रमा पाइलो सारेको थिइनँ । मेरो जीवनको एक अविष्मरणीय घटना छ– जसको पीडा भुल्न मैले अध्ययन र साहित्यलाई माध्यम बनाएँ । पढ्दै÷लेख्दै जाँदा साहित्यप्रतिको भोग पनि जागरण हुँदै गयो । अन्ततः यात्रा यतैतिर तय भयो ।
– नत्र यतिबेला म अन्य युवाजस्तै सायद खाडी मुलुकतिर श्रम बेचिरहेको हुन्थेँ । यो परिस्थितिले निर्धारण गथ्र्यो होला । शायद म चित्रकार पनि बन्थेँ कि ! किनभने चित्रकलामा मेरो बाल्यकालदेखिको गहन रुचि थियो ।
तपाईको जीवनको त्यो ‘टर्निङ पोइन्ट’ वा अविष्मरणीय घटना के थियो ?
– त्यो घटना थियो वि.सं. २०६३ कार्तिकतिरको । मैले हुर्कंदो उमेरमै श्रवणशक्ति गुमाउनुप¥यो । यसका केही कारण छन् । गाउँघरमा हाँडेरोग फैलिएको थियो । त्यतिबेला म नौ कक्षामा पढ्दै थिएँ । मलाई पनि बढी नै सतायो, करिब एक साता । त्यसको आक्रमणको प्रभाव सीधै कानमा प¥यो । अचानक रूपले म कान सुन्न नसक्ने भएँ । यत्रो घटना हुँदा पनि मैले तत्काल भरपर्दो उपचार पाउन सकिनँ । अचेतना तथा विकटताको फलस्वरूप धामी, देवीदेउता र ज्योतिषीको भर पर्नुप¥यो । ढिलोगरी सीमावर्ती भारतका केही हस्पिटल र पछि नयाँदिल्लीसम्म पुगियो । तर चिकित्सकले पनि केही गर्न सकेनन् । त्यतिबेलै कुनै अप्रेसन या बढी खर्चिलो उपचार गर्न सकेको भए शायद श्रवणशक्ति केही मात्रामा भए पनि कायम रहन सक्थ्यो कि भन्ने आज मनमा परिरहन्छ ।
– कानका नसा सुकिसकेको हुँदा प्राकृतिक श्रवणशक्ति फिर्ता आउन असम्भव छ भन्ने कुरा म काठमाडौँ आएपछि त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा चेक गराउँदा मात्र थाहा भयो । एउटा झिनो सम्भावना देखिएको छ– ‘कोक्लियर इम्प्लान्ट’ नामक मेजर अप्रेशन गर्ने हो भने सुन्न सकिन्छ शायद ।
साहित्य लेखनका अतिरिक्त तपाईंको सोख र अनुभवका क्षेत्र के हुन् ?
– साहित्यका अतिरिक्त मलाई फोटोग्राफी र चित्रकलामा पनि सोख छ । यदाकदा चित्र कोर्ने गरे पनि यसमा मैले साधना गर्न सकिनँ । यात्रामा हुँदा वा कतै निस्कँदा मलाई प्रकृतिका सुन्दर क्षण, समाज–संस्कृति र जीवन झल्किने कथा–व्यथा क्यामेराको लेन्स मार्फत फ्रेममा सजाउन पनि उत्तिकै मन पर्छ । अनुभवका दृष्टिले सम्पादन तथा पत्रकारितामा समेत मैले केही अनुभव सँगालेको छु ।
– प्रस्तुतिः जयराम सापकोटा