Logo

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भई बालुवाटारमा



काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी साँझ डिस्चार्ज भई सरकारी निवास बालुवाटार पुगेका छन् ।

अस्पतालबाट डिस्चार्ज भएपनि ओली केही समय बालुवाटारमा आराम गर्नेछन् । उनी निवास बाहिर ननिस्कने र भेटघाट पनि निकै कम गर्ने बुझिएको छ ।

यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री डिस्चार्ज हुने अग्रिम जानकारी दिएका थिए । ओली मृगौला प्रत्यारोपणपछि अस्पतालमै रहँदै आएका थिए । उनलाई १९ फागुनमा भर्ना गरी २१ फागुनमा मृगौला प्रत्यारोपण गरिएको थियो ।

मृगौलाको सफल प्रत्यारोपणपछि ओली अस्पतालमा चिकित्सकको निगरानीमा थिए । उनको अवस्था सुधार भएपछि डिस्चार्ज गरिएको जनाइएको छ ।

दोस्रोपटक मृगौला प्रत्यारोपण गरेका ओली पूरा सक्रिय हुन अझै महिना दिन लाग्नसक्ने चिकित्सकले बताएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्