काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पताल महाराजगञ्जबाट निस्केर अघि बढ्दै थिए । उनको वरिपरि चिकित्सकहरु थिए । निजी चिकित्सक डा. दिव्या सिंह शाह दायाँतिर थिइन् । अंररक्षकहरु बायाँतिर थिए ।
पछाडितर्फ चिकित्सकहरु थिए । मुस्कुराउँदै निस्केका ओली केही हौसिए । उनी फटाफट हिंड्न बल गर्दै थिए । यत्तिकैमा अनियन्त्रित भई लड्न खोजे । उनलाई हत्तपत्त डाक्टरहरुले समातिहाले । त्यसपछि मुस्कुराए ।
ओली दुईपटक लड्न खोजेका थिए । तर, दुवै पटक चिकित्सकले समाते । त्यसपछि उनी हात हल्लाएर मिडियासामु प्रस्तुत भए । सेतो गाडीमा चढेर बालुवाटार गए ।
प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपनि पूर्ण रुपमा स्वस्थ भइसकेका छैनन् । उनलाई अझै आरामको जरुरी रहेको डिस्चार्जको बेलाको अवस्थाबाट देखिएको थियो । चिकित्सकले अझै एक महिना बालुवाटारबाट ननिस्कन सुझाव दिएका छन् ।