Logo

स्थानीय तहले त्रिवर्षीय योजना बनाउनैपर्ने



काठमाडौँ, २ चैत । साना योजनामा नै रमाइरहेका स्थानीय तहले आगामी आर्थिक वर्षदेखि अनिवार्य रूपमा ठूलो प्रकृतिका योजना बनाई कार्यान्वयन गर्नुपर्ने भएको छ । सङ्घीय सरकारले स्थानीय तहलाई आर्थिक अनुदान हरेक वर्ष पठाइरहने तर स्थानीय तहमा पठाएको बजेटको राष्ट्रिय उपलब्धिमा खासै योगदान नहुने भएपछि यस्तो व्यवस्था गर्न लागिएको हो ।

यसबाट दीर्घकालीन योजना निर्माणका लागि कानुनी दायरामा ल्याउने सरकारको योजना छ । आगामी आर्थिक वर्षदेखि सबै स्थानीय तहलाई तीन आर्थिक वर्षको योजना बनाई दिगो विकासका लक्ष्य हासिल गर्नका लागि मध्यकालीन खर्च संरचनासम्बन्धी कार्यविधि निर्माण कार्य सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तिम चरणमा पु¥याएको छ । सङ्घीय सरकारले भने बजेटमार्फत हरेक वर्ष तीन आर्थिक वर्षको योजना निर्माण गर्दै आएको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले स्थानीय तहले मध्यकालीन खर्च संरचना निर्माण गर्नुपर्ने कानुनी व्यवस्था गरे पनि हालसम्म सो कार्यान्वयनमा आएको थिएन ।

अर्थ मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरूले वित्तीय व्यवस्थाको पूर्वानुमान गर्ने कार्य नै मध्यकालीन खर्च संरचना भएको बताएका छन्। उनका अनुसार स्थानीय तहका दीर्घकालीन कार्यक्रम के के हुन्छन्, त्यसका लागि कति खर्च लाग्छ, स्थानीय तहले बनाएका योजनाले कति रोजगारी सिर्जना गर्छ भन्ने कुरा मध्यकालीन खर्च संरचनामा उल्लेख गरिन्छ ।
कानुनी प्रावधान
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार स्थानीय सरकारले सार्वजनिक खर्चको विवरण तयार गर्दा तीन आर्थिक वर्षमा हुने खर्चको प्रक्षेपण सहितको मध्यकालीन खर्च संरचना तयार गर्नुपर्छ । योजना बनाउँदा प्रस्तावित योजनाको उद्देश्य, योजनाका लागि सम्भाव्यता अध्ययन गर्न खर्च छुट्याउने र आवश्यकताको पुस्ट्याइँ, प्रस्तावित योजना कार्यान्वयन हुनसक्ने आर्थिक वर्ष, त्यसपछिको दुई आर्थिक वर्षमा प्राप्त हुनसक्ने प्रतिफल उपलब्धि र प्रस्तावित योजना लागू गर्न आवश्यक खर्चको विवरण मध्यकालीन खर्च संरचनामा उल्लेख गर्नुपर्ने कानुनी प्रावधान छ ।

त्यस्तै खर्च बेहोर्ने स्रोत र खर्च गरिएको रककबाट प्राप्त हुनसक्ने प्रतिफल तथा उपलब्धि र उपलब्धिको प्रक्षेपण प्रस्तावित योजनाको मध्य अवधिको खर्चको रणनीति, त्यसको वार्षिक खर्चसँगको सम्बन्ध र सञ्चालित योजना भए÷नभएको यथार्थ विवरण मध्यकालीन खर्च संरचनामा निर्माण गर्नुपर्छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले आवधिक योजनालाई वार्षिक बजेट र कार्यक्रमसँग जोड्न वित्तीय अनुशासनको औजारका रूपमा मध्यकालीन खर्च संरचना आवश्यक भएको बताएका छन् । उनले भने, “स्थानीय तहले स–साना समस्या त समाधान गर्नुपर्छ नै, त्यसका अलावा राष्ट्रिय लक्ष्य हासिल गर्ने कार्यमा स्थानीय तहको भूमिका निर्वाह गराउनका लागि मध्यकालीन खर्च संचरनाको अवधारणा ल्याइएको हो ।” मन्त्रालयले कार्यविधि निर्माण कार्य अन्तिम चरणमा पु¥याएको र यसलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराइएपछि कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्