Logo

इमरान खान सार्क नेताहरुको भिडियो कन्फरेन्समा किन सहभागी नहुने भए



काठमाडौं, २ चैत्र । आज साँझ सवा ५ बजे सार्क राष्ट्रहरुका नेताहरुबीच भिडियो कन्फरेन्स हुने भएको छ । भिडियो कन्फरेन्समा सार्क नेताहरुमध्ये सात देशका राष्ट्रपति वा प्रधानमन्त्री सहभागी हुने तय भइसकेको छ । तर, पाकिस्तानका प्रधानमन्त्री इमरान खान सहभागी हुनेछैनन् ।

खान सहभागी नभएपनि पाकिस्तानबाट प्रतिनिधित्व हुनेछ । पाकिस्तानले प्रधानमन्त्रीका स्वास्थ्यसम्बन्धि विशेष सहयोगी जफर मिर्जा भिडियो कन्फेरेन्समा सहभागी हुने जनाएको छ । हिजो पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता अइसा फारुकीले यसबारे जानकारी दिएकी हुन् । मिर्जा स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरुमा समेत काम गरिसकेका अधिकारी हुन् । तर, भिडियो कन्फरेन्समा पोर्टफोलियो नमिल्ने गरी पाकिस्तानले सहभागीता गराउन खोजेपछि इमरानमाथि आफै सहभागी हुने दबाब चाहिं छ ।

सार्क निष्कृय भएको र यसमा भारतीय पक्ष गम्भीर नभएको आरोप पाकिस्तानको लाग्दै आएको छ । अघिल्लो सार्क शिखर सम्मेलन नेपालमा आयोजना भएको थियो । अहिले नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । आगामी सार्क शिखर सम्मेलन पाकिस्तानमा हुनुपर्नेमा भारतले सहभागिता जनाउन नसक्ने कारण हुन सकेको छैन । अहिले कोरोना भाइरसको संक्रमणसँग जुध्न साझा रणनीति बनाउन सार्क राष्ट्रहरु एक ठाउँमा उभिने अवस्था बनेको छ । तर, यतिबेला पाकिस्तानले गम्भीरता नदेखाएको अवस्था छ ।

सार्क राष्ट्रहरु मिलेर बलियो रणनीति बनाउनुपर्ने प्रस्ताव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् गरेका थिए । उनी भिडियो कन्फरेन्समा सहभागी हुन उत्साही भइसकेका छन् । उनैले भिडियो कन्फरेन्सको समय र मितिबारे ट्वीटमार्फत् जानकारी गराएका थिए । भिडियो कन्फरेन्समा बँगलादेश र भुटानबाट प्रधानमन्त्री, मालदिभ्स, अफगानिस्तान र श्रीलंकाबाट राष्ट्रपति सहभागी हुनेछन् । यी देशका नेताहरुले मोदीको प्रस्तावको स्वागत गरेका थिए । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने कुनै सार्वजनिक जवाफ दिएनन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्