Logo

मोदीद्धारा कोरोना भाइरसविरुद्ध आकस्मिक कोषको प्रस्ताव, भारतका तर्फबाट एक करोड डलर



काठमाडौं २ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको गम्भीर चुनौती देखिएको भन्दै सार्क राष्ट्रहरु सहकार्य गरेर बढ्नुपर्नेमा जोड दिए । आज साँझ सार्क नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै उनले भाइरसविरुद्ध आकस्मिक कोष बनाउन प्रस्ताव गर्दै भारतका तर्फबाट एक करोड डलर कोषका लागि राख्ने प्रस्ताव गरे ।

कोषको रकम सार्क देशहरुले आवश्यक पर्दा प्रयोग गर्न सकिने गरी व्यवस्था गर्न समेत प्रस्ताव गरे । ‘भ्रमित हुने होइन सहकार्य गर्ने हो, आतंकित हुने होइन तयारी गर्ने हो,’ मोदीले भने, ‘कोरोना भाइरसविरुद्ध आकस्मिक कोष खडा गर्ने प्रस्ताव गर्दछु र भारतका तर्फबाट शुरुमै एक करोड डलर कोषको प्रस्ताव गर्दछु ।’ सार्क देशहरुको चिकित्सक, विज्ञ र परीक्षणलगायत प्रविधिको मिलेर प्रयोग गर्न सकिने प्रस्ताव समेत गरे ।

मोदीले कोरोना भाइरसको जोखिमसँग लड्न स्वास्थ्यकर्मीलाई अनलाइन तालिम पनि दिन सकिने बताए । उनले यस क्षेत्रमा पर्न सक्ने आर्थिक चुनौतीको पनि मिलेर सामना गर्न सकिने बताए । व्यापारलगायतका क्षेत्रमा आवश्यक कदम चाल्न सकिने प्रस्ताव गरे ।



प्रतिक्रिया दिनुहोस्